काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमाल आफ्नो चर्चित पुस्तक ‘युगदेखि युगसम्म’ लिएर जापान प्रस्थान गर्ने कार्यक्रम तय भएको छ। हमालको उपस्थितिमा टोकियोस्थित Nakano Zero Hall, Nakano City मा फेब्रुअरी ११ (बुधबार) साँझ ६:३० बजेबाट विशेष साहित्यिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना हुने जनाइएको छ।
एनआरएनए जापान र अनेसास जापान च्याप्टरको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा हमालले आफ्नो पुस्तक, चलचित्र यात्रा तथा जीवनका अनुभवहरूबारे सहभागीहरूसँग संवाद गर्नेछन्। कार्यक्रममा नेपाली समुदायका साहित्यप्रेमी, चलचित्रकर्मी तथा प्रवासी नेपालीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
एनआरएनए एनसीसीका तत्कालीन अध्यक्ष नविन निउरेले आफ्नो सामाजिक सञ्जालमार्फत कार्यक्रमबारे जानकारी दिँदै राजेश हमालको जापान भ्रमण नेपाली कला, साहित्य र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसर भएको बताएका छन्। उनले कार्यक्रम सफल बनाउन योगदान पुर्याउने NRNA Japan, अनेसास जापान च्याप्टर तथा सहयोगीहरू रवीन्द्र श्रेष्ठ, सुवास लामिछाने, लक्ष्मण पाठक र रबिन शर्माप्रति आभार व्यक्त गरेका छन्।
जापानमा हुने उक्त कार्यक्रमले नेपाली भाषा, साहित्य र चलचित्र क्षेत्रलाई विश्वमञ्चमा थप परिचित गराउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।