विपद्मा मातृभूमिप्रति ठूलो साथ : कुल आचार्यको ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा समाजसेवी कुल आचार्यले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि उल्लेख्य आर्थिक सहयोग गरेका छन्।
आचार्यले आफ्नो व्यक्तिगत तर्फबाट तथा आफू सम्बद्ध होली काउ कम्पनीको तर्फबाट गरी कुल ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गरेका हुन्।
विपद्को कठिन घडीमा पीडित नागरिकको साथमा उभिँदै आचार्यले गरेको यो सहयोगले विदेशमा रहेर पनि मातृभूमिप्रतिको जिम्मेवारी र मानवीय संवेदनालाई प्राथमिकतामा राखेको सन्देश दिएको छ।
बाढी–पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेको अवस्थामा उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यको प्रयाससँगै निजी क्षेत्र, सामाजिक संघसंस्था तथा व्यक्तिहरूबाट सहयोग जुटिरहेको छ। यही अभियानमा आचार्यको सहयोग पनि महत्वपूर्ण योगदानका रूपमा आएको हो।
एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय आचार्यले यसअघि पनि नेपालमा विभिन्न सामाजिक तथा मानवीय कार्यमा योगदान गर्दै आएका छन्। पछिल्लो सहयोगले विपद्मा नेपाली जहाँ भए पनि आफ्नो देश र देशवासीको पीडामा साथ दिनुपर्छ भन्ने भावना अझ बलियो बनाएको छ।
११ लाख ११ हजार १११ रुपैयाँको यो सहयोग रकम केवल आर्थिक सहयोग मात्र नभई विपत्तिमा परेका नेपालीप्रतिको ऐक्यबद्धता, सहानुभूति र जिम्मेवारीको शक्तिशाली अभिव्यक्ति भएको छ।