कृष्ण जन्माष्टमीमा बैंककमा नेपाल बाढीपीडितको सम्झना, मैनबत्ती प्रज्वलनसहित श्रद्धाञ्जली
बैंकक, थाइल्यान्ड । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा थाइल्यान्डको बैंककमा रहेको ISKCON परिवारले भव्य तथा आध्यात्मिक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा भक्तजन, शुभेच्छुक तथा विभिन्न समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा भगवान् श्रीकृष्णप्रति श्रद्धा, भक्ति र एकताको भावना व्यक्त गर्दै भक्तिमय कीर्तन तथा मनमोहक नृत्य प्रस्तुति लगायतका विविध आध्यात्मिक कार्यक्रम आयोजना गरिएको थियो।
यस अवसरलाई नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित तथा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा समेत समर्पित गरिएको थियो। बाढीपहिरोका कारण ज्यान गुमाएका नेपालीहरूप्रति सम्मान तथा समवेदना प्रकट गर्दै ४ सेप्टेम्बर २०२६ मा बैंककमा विशेष श्रद्धाञ्जली तथा मैनबत्ती प्रज्वलन कार्यक्रम आयोजना गरिएको सामाजिक अभियन्ता कुमार कार्कीले जानकारी दिएका छन्।
कार्कीका अनुसार, दुःखको समयमा नेपाल र नेपालीप्रति ऐक्यबद्धता प्रकट गर्नु मानवीय दायित्व भएको उल्लेख गर्दै कार्यक्रममा दिवंगत आत्माको चिरशान्तिको कामना तथा प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो।
धार्मिक आस्था र मानवीय संवेदनालाई जोड्दै आयोजना गरिएको उक्त कार्यक्रमले नेपालमा विपद्का कारण पीडामा रहेका नागरिकप्रति अन्तर्राष्ट्रिय समुदायको सहानुभूति र ऐक्यबद्धताको सन्देश दिएको छ।
हरे कृष्ण ।