सरकारी बैंकका अध्यक्षहरूको सामूहिक राजीनामा
काठमाडौं । सार्वजनिक संस्थानमा राजनीतिक नियुक्ति भएका पदाधिकारीलाई हटाउने सरकारी निर्णयको प्रभाव सरकारी स्वामित्वका बैंकहरूमा पनि देखिएको छ। सरकारी लगानी रहेका बैंकका अध्यक्षहरूले पदबाट राजीनामा दिएका छन्।
अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंक का अध्यक्षसहित सम्पूर्ण सञ्चालक समितिले राजीनामा बुझाएका छन्। यस्तै कृषि विकास बैंक र नेपाल बैंक मा अध्यक्षहरूले मात्रै पद त्याग गरेका हुन्।
राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष रहेका देवकुमार ढकाल सहित सञ्चालक समितिका सदस्यहरू थानप्रसाद पंगेनी, लक्ष्मण घिमिरे, रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, सूर्यबहादुर राना तथा हरिकुमार सिलवाल ले पनि राजीनामा दिएका छन्।
त्यसैगरी डिमप्रसाद पौडेल र डिल्लीराज शर्मा ले पनि पदबाट राजीनामा दिएका हुन्। उनीहरू सबै अघिल्लो सरकारले नियुक्त गरेका पदाधिकारी हुन्।
सरकारले हालै ल्याएको अध्यादेशमा नेपाल राष्ट्र बैंक तथा सरकारी बैंकहरूको व्यवस्थापनबारे स्पष्ट व्यवस्था नगरिए पनि राजनीतिक नियुक्तिका पदाधिकारी हटाउने निर्णयपछि बैंकहरूमा राजीनामाको लहर देखिएको हो।