२५ दिनमै तीव्र काम—प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको प्रगति सार्वजनिक

theoutsidenepal.com

द टन न्युज, काठमाडौं ।प्रधानमंत्री बालेन्द्र शाह नेतृत्वको सरकारले पदभार सम्हालेको २५ दिनभित्रै विभिन्न महत्वपूर्ण निर्णय र कार्यान्वयनमार्फत आफ्नो सक्रियता देखाएको छ। सरकारद्वारा सार्वजनिक आजसम्मको प्रगति प्रतिवेदनअनुसार छोटो अवधिमै नीतिगत तथा संरचनात्मक सुधारका थुप्रै पहलहरू अघि बढाइएको छ।


सरकारले भदौ २४ मा भएको घटनाको सत्यतथ्य छानबिन गर्न एक हप्ताभित्रै उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ। त्यस्तै, सङ्घ, प्रदेश र स्थानीय तहको सङ्गठन सर्वेक्षणका लागि १५ दिनभित्र राष्ट्रिय मापदण्ड तयार पार्ने काम सम्पन्न गरिएको छ।


भ्रष्टाचार नियन्त्रणतर्फ सरकार आक्रामक देखिएको छ। २०४८ सालदेखि हालसम्मका सम्पत्तिको छानबिन गर्न १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिएको छ भने भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय कार्ययोजना पनि सोही अवधिमा जारी गरिएको छ। साथै, सार्वजनिक पद सम्हाल्नुअघि अनिवार्य रूपमा सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था नागरिक करारअन्तर्गत कार्यान्वयनमा ल्याइएको छ।


पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै ‘आरोग्य पर्यटन रणनीति—Nepal Wellness Year 2027’ पनि १५ दिनमै अघि बढाइएको छ, जसले स्वास्थ्य तथा वेलनेस पर्यटन प्रवर्द्धनमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ।


त्यसैगरी, स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गराउन योगदान गर्ने निकाय तथा व्यक्तिहरूप्रति ५ दिनमै आभार प्रकट गरिएको छ। अवैध गतिविधि नियन्त्रणतर्फ सट्टेबाजी एप र वेबसाइटहरू २४ घण्टाभित्र बन्द गरिएका छन्।


सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यसम्पादन एकाइ (PM Delivery Unit) समेत तत्काल स्थापना गरिएको छ, जसले नीतिगत निर्णयहरूको कार्यान्वयनमा गति दिने विश्वास गरिएको छ।


२५ दिनको अवधिमा देखिएको यो सक्रियता र निर्णय क्षमता सरकारको प्राथमिकता सुशासन, पारदर्शिता र तीव्र विकासतर्फ केन्द्रित रहेको संकेतका रूपमा हेरिएको छ।


प्रतिक्रिया