गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र एकता र सहमतिको वातावरण निर्माण गर्ने विषयमा जापानस्थित नेपाली समुदायले सकारात्मक सन्देश दिएको छ। एनआरएनए अभियन्ता संगीता अधिकारी सुवेदीले सामाजिक सञ्जालमार्फत एकता, सहजीकरण र सहकार्यको पक्षमा आफ्नो धारणा सार्वजनिक गर्दै नेतृत्वभन्दा पनि संस्थागत एकतालाई प्राथमिकता दिनुपर्ने बताएकी छन्।
उनले जापान सधैँ एनआरएनएको एकताका लागि दृढ रूपमा उभिएको उल्लेख गर्दै लेखेकी छन्, “जापान सधैँ एकताको लागि, सहजीकरणको लागि एकजुट थियो, एकजुट छ र सधैं एकजुट रहनेछ। रविन दाइप्रति गर्वले छाती फुलेको छ। धेरै बधाई।”
उनले आफ्नो स्टाटसमा आजको अवस्थामा सबैभन्दा महत्वपूर्ण विषय भनेको एनआरएनएभित्र कसरी सबै पक्षलाई एकजुट बनाउने भन्ने रहेको बताएकी छन्। सुवेदीले यो अभियानमा जोडिँदै गर्दा सर्वप्रथम रविन दाइलाई शुभकामना र बधाई व्यक्त गर्दै एकताको यात्रामा सबैले साथ दिनुपर्ने धारणा व्यक्त गरेकी छन्।
उनका अनुसार नेतृत्वभन्दा पनि संस्थागत सहमति र एकता ठूलो कुरा हो। यदि आवश्यक परे नेतृत्वमा नआएर पनि एकताको लागि एक कदम पछाडि हट्ने निर्णय लिन सकिने सन्देश रविन दाइले दिएको उल्लेख गर्दै उनले यस्तो निर्णयलाई आफू लगायत सम्पूर्ण टिमले स्वागत गर्ने विश्वास व्यक्त गरेकी छन्।
सुवेदीले रविन दाइले कुनै दबाब, प्रेसर वा तनावमा नभई आफ्नो विवेक र सोचअनुसार निर्णय लिएको उल्लेख गर्दै अग्रजहरूको प्रस्तावलाई स्वीकार गर्नु सकारात्मक कदम भएको बताएकी छन्।
उनले लेखेकी छन्, “कहिलेकाहीँ एक स्टेप पछाडि बसेर पनि ठूलो सफलता हासिल गर्न सकिन्छ, र कहिलेकाहीँ नेतृत्वमा गएर पनि सफलता प्राप्त गर्न सकिँदैन।”
उनका अनुसार सोचेर, बुझेर र सबैले गर्व गर्न सक्ने सहमति र एकताको वातावरण निर्माण गर्न रविन दाइले देखाएको सहजीकरणप्रति सम्पूर्ण टिमले सम्मान गर्नुपर्ने बताएकी छन्।
एनआरएनएभित्र पछिल्लो समय देखिएको विभाजन अन्त्य गर्दै सहमति र एकताको वातावरण निर्माण गर्ने प्रयास भइरहेका बेला जापानबाट आएको यस्तो सन्देशलाई सकारात्मक रूपमा हेरिएको छ। प्रवासी नेपालीहरूबीच आपसी सहकार्य र सहमतिका आधारमा संस्था अगाडि बढाउनुपर्ने धारणा पनि यसले उजागर गरेको छ।