दुई दशकदेखि जापानमा समाजसेवामा सक्रिय दीपक नेपाल सम्मानित, प्रवास नेपाली सम्पर्क विभाग जापानद्वारा सम्मान–पत्र प्रदान

theoutsidenepal.com

दुई दशकदेखि जापानमा समाजसेवामा सक्रिय दीपक नेपाल सम्मानित, प्रवास नेपाली सम्पर्क विभाग जापानद्वारा सम्मान–पत्र प्रदान

टोकियो। प्रवास नेपाली सम्पर्क विभाग जापानले लामो समयदेखि जापानमा रहेर समाजसेवा, मानवसेवा तथा स्वयंसेवी गतिविधिमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका सामाजिक अभियन्ता दीपक नेपाललाई सम्मान–पत्र प्रदान गरेको छ।

विभागले प्रदान गरेको सम्मान–पत्रमा नेपालले दुई दशकभन्दा लामो समयदेखि जापानमा निस्वार्थ भावनाका साथ नेपाली समुदायको हितमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गरिएको छ। नेपाल फेस्टिभललगायत विभिन्न सामाजिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रमहरूमा व्यक्तिगत व्यस्तताका बाबजुद स्वयंसेवकका रूपमा निरन्तर सक्रिय रहँदै सरसफाइ अभियान, वातावरण संरक्षण, फोहोर व्यवस्थापन तथा जापानी स्वयंसेवी संस्थाहरूसँग सहकार्य गर्दै महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनको प्रशंसा गरिएको छ।

सम्मान–पत्रमा जापानमा बसोबास गर्दै नेपालका असहाय, विपन्न, दुःखी तथा अभावग्रस्त बालबालिकाको शिक्षा, स्वास्थ्य तथा आधारभूत आवश्यकताका लागि वर्षौंदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै उनको सेवाभाव, परोपकारी सोच र समर्पण सम्पूर्ण नेपाली समुदायका लागि प्रेरणादायी रहेको जनाइएको छ।

दीपक नेपाललाई आइतबार टोकियोको कामातास्थित चौतारो रेस्टुरेन्टको सभाहलमा आयोजित प्रवास नेपाली सम्पर्क विभाग जापानको कान्तो क्षेत्रीय अधिवेशनका अवसरमा सम्मान गरिएको हो।

सम्मान ग्रहणपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै नेपालले उक्त सम्मानलाई आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि जापानमा रहेका नेपाली समुदायप्रतिको सम्मानका रूपमा लिएको बताएका छन्।

उनले लेखेका छन्, “प्रवास नेपाली सम्पर्क विभाग जापानबाट प्राप्त यस सम्मान–पत्रलाई म आफ्नो व्यक्तिगत उपलब्धि वा सफलताको रूपमा कहिल्यै लिन सक्दिनँ। यो सम्मान जापानमा बसोबास गर्ने करिब तीन लाख नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको विश्वास, माया, साथ र आशीर्वादको सम्मान हो।”

उनले आफ्नो सामाजिक अभियान, मानवसेवा र स्वयंसेवाको यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि समाजसेवाको यात्रालाई अझ जिम्मेवारीका साथ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रवास नेपाली सम्पर्क विभाग जापानले समाज, राष्ट्र र मानवताको सेवामा दीपक नेपालले पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान–पत्रमार्फत कृतज्ञता व्यक्त गरेको जनाएको छ।


प्रतिक्रिया