काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माले युद्ध प्रभावित पश्चिम एसियामा रहेका नेपाली नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले तत्काल एक करोड रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय भएको जानकारी दिनुभएको छ।
१२औँ महाधिवेशनबाट गठित कार्यसमितिको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो। अध्यक्ष शर्माका अनुसार राहत कोषमा संकलित रकम तुरुन्तै रिलिज गरी आवश्यक क्षेत्रमा परिचालन गरिनेछ।
उहाँले संघका पदाधिकारी तथा सदस्यहरूबाट न्यूनतम एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको बताउँदै सो रकम विशेष टास्क फोर्सको योजना अनुसार पश्चिम एसियामा रहेका नेपालीहरूको सहयोगका लागि खर्च गरिने जानकारी दिनुभयो। हाल संघमा करिब एक लाख ३० हजार सदस्य रहेको उल्लेख गर्दै प्रत्येक सदस्यबाट कम्तीमा एक डलर संकलन गर्ने निर्णय पनि गरिएको छ।
यसैबीच, एनआरएनएको नयाँ कार्यसमितिका पदाधिकारीहरूले कुनै पनि राजनीतिक दल तथा भ्रातृ संगठनसँग आबद्ध नहुने प्रतिबद्धता जनाएका छन्। बैठकमा सहभागी सम्पूर्ण पदाधिकारीहरूले सामाजिक सञ्जालमार्फत राजनीतिक टिप्पणी, गालीगलौज वा व्यक्तिगत चरित्रहत्या नगर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन्।
बैठकले सचिवालय व्यवस्थापन लगायतका अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको अध्यक्ष शर्माले जानकारी दिनुभयो। नवगठित कार्यसमितिको बैठक शुक्रबारसम्म जारी रहनेछ।