दुई दशकको यात्रामा जनसवाल राष्ट्रिय दैनिक, विविध कार्यक्रमसहित २०औँ वार्षिकोत्सव सम्पन्न
काठमाडौं । जनसवाल राष्ट्रिय दैनिकले आफ्नो प्रकाशन यात्राको दुई दशक पूरा गरेको अवसरमा शनिबार राजधानीमा विशेष समारोह आयोजना गरी २०औँ वार्षिकोत्सव मनाएको छ।
सीमित स्रोतसाधन, अनेकौँ चुनौती र दृढ संकल्पका साथ दुई दशकअघि सुरु भएको जनसवाल आज राष्ट्रिय दैनिकका रूपमा स्थापित भएको हो। आर्थिक तथा व्यावसायिक चुनौती, बदलिँदो सञ्चार प्रविधि, डिजिटल माध्यमको तीव्र विस्तार र प्रिन्ट मिडियामाथि बढ्दो दबाबका बीच निरन्तर प्रकाशनलाई कायम राख्न सफल हुनु महत्वपूर्ण उपलब्धि भएको समारोहमा सहभागी वक्ताहरूले बताए।
वार्षिकोत्सव समारोहमा मिडिया एलायन्स नेपालका अध्यक्ष तथा एभिन्युज टेलिभिजनका अध्यक्ष भास्करराज कर्णिकार, गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका उपाध्यक्ष प्रवीण गुरुङ, नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारी, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, लेखा समिति पूर्वसंयोजक लेखनाथ न्यौपाने, केन्द्रीय सदस्यहरू सूर्य सुवेदी र अर्जुन पन्त, पूर्वकेन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायतको सहभागिता थियो।
त्यस्तै, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष भुवनसिंह गुरुङ, महासचिव हरि डाँगी, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रामप्रसाद गैरे, नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्की, काठमाडौं शाखाका सचिव रमेश बोहोरा, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष चन्द्र शर्मा, उपाध्यक्ष रामजी खाँडलगायत वरिष्ठ पत्रकार, सञ्चारकर्मी, व्यवसायी, उद्योगी तथा जनसवालका पत्रकार र कर्मचारीहरूको उपस्थिति थियो।
समारोहलाई सम्बोधन गर्दै मिडिया एलायन्स नेपालका अध्यक्ष भास्करराज कर्णिकारले प्रिन्ट मिडिया आर्थिक, प्रविधिगत र व्यावसायिक चुनौतीको चापमा रहेका बेला जनसवालले दुई दशकसम्म प्रकाशन यात्रालाई निरन्तरता दिनु ठूलो उपलब्धि भएको बताए।
डिजिटल माध्यम र सामाजिक सञ्जालको प्रभाव बढिरहेको अवस्थामा प्रिन्ट मिडियाको अस्तित्व जोगाउँदै निरन्तर प्रकाशन गर्नु चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले जनसवालले विशेषगरी व्यावसायिक क्षेत्र, श्रम बजार र जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको बताए। उनले अध्यक्ष तथा प्रधान सम्पादक रामजी बगालेसहित सम्पूर्ण जनसवाल परिवारलाई बधाई तथा शुभकामना दिँदै आगामी यात्रा अझ सशक्त, विश्वसनीय र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे।
एनआरएनए आईसीसीका उपाध्यक्ष प्रवीण गुरुङले जनसवालले स्वदेशमा रहेका नेपालीसँगै विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको आवाजलाई राष्ट्रिय बहससँग जोड्दै आएको बताए। प्रवासी नेपालीको श्रम, सीप, संघर्ष, उपलब्धि, अधिकार, लगानी र समस्यालाई निरन्तर प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले नेपाल र प्रवासबीच सञ्चारमाध्यमले सेतुको भूमिका निर्वाह गर्नुपर्ने बताए।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले दुई दशकसम्म राष्ट्रिय दैनिक सञ्चालन गर्नु आफैंमा महत्वपूर्ण उपलब्धि भएको बताए। पत्रकार तथा सञ्चारकर्मीको सहकार्य र साथमा पत्रिकालाई निरन्तरता दिएकोमा जनसवाल परिवार तथा अध्यक्ष रामजी बगालेलाई धन्यवाद दिँदै उनले बदलिँदो प्रविधिसँगै सञ्चार क्षेत्रमा चुनौती पनि थपिँदै गएको बताए।
दाहालले जनसवाललाई ‘निमुखाको आवाज’ का रूपमा चित्रण गर्दै श्रमजीवी तथा आमनागरिकका सवाललाई आगामी दिनमा पनि प्राथमिकतामा राख्न आग्रह गरे। महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले जनसवालले प्रवास तथा एनआरएनएका विषयलाई निरन्तर प्राथमिकता दिएको उल्लेख गर्दै आगामी दिनमा ती विषयलाई अझ सशक्त रूपमा उठाउन सुझाव दिए।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष भुवनसिंह गुरुङले जनसवालले वैदेशिक रोजगार व्यवसायी तथा विदेशमा रहेका नेपाली श्रमिकका समस्या र सरोकारलाई लामो समयदेखि निरन्तर उठाउँदै आएको बताए। वैदेशिक रोजगार लाखौँ नेपालीको जीवन, परिवार र मुलुकको अर्थतन्त्रसँग जोडिएको विषय भएकाले यस क्षेत्रका वास्तविक समस्या, चुनौती र सम्भावनालाई तथ्यपरक रूपमा सार्वजनिक बहसमा ल्याउनुपर्ने उनको भनाइ थियो।
संघका महासचिव हरि डाँगीले वैदेशिक रोजगार व्यवसायीका समस्या सम्बन्धित निकायसम्म पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रामप्रसाद गैरेले तथ्य, प्रमाण र गहिरो अध्ययनमा आधारित पत्रकारिताले सार्वजनिक बहसलाई बलियो बनाउने उल्लेख गर्दै जनसवालले राष्ट्रिय सरोकारका विषयमा निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे।
नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारीले जनसवाल २० वर्ष पूरा गरेर नेपाली पत्रकारिताको यात्रामा महत्वपूर्ण चरणमा प्रवेश गरेको बताए। डिजिटल सञ्चारको तीव्र विस्तारका कारण प्रिन्ट मिडियाले चुनौती सामना गरिरहेको अवस्थामा पनि दुई दशकसम्म प्रकाशनलाई निरन्तरता दिनु प्रशंसनीय भएको उनको भनाइ थियो।
‘जनसवालको यात्रा साझा उपलब्धि हो’
कार्यक्रममा जनसवाल राष्ट्रिय दैनिकका अध्यक्ष तथा प्रधान सम्पादक रामजी बगालेले दुई दशकको यात्रालाई आफ्नो व्यक्तिगत उपलब्धिभन्दा सम्पूर्ण सहयात्रीको साझा उपलब्धिका रूपमा स्मरण गरे।
सीमित स्रोतसाधन र कठिन परिस्थितिबाट सुरु भएको जनसवाललाई आजको अवस्थामा ल्याउन पाठक, पत्रकार तथा सञ्चारकर्मी, लेखक तथा स्तम्भकार, कर्मचारी, विज्ञापनदाता, व्यवसायी, उद्योगी, गैरआवासीय नेपाली तथा शुभेच्छुकको महत्वपूर्ण योगदान रहेको उनले बताए।
‘भुइँमान्छे’का रूपमा सुरु गरेको आफ्नो पत्रकारिताको यात्रालाई यहाँसम्म ल्याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै बगालेले पाठकको विश्वास नै जनसवालको सबैभन्दा ठूलो पूँजी भएको बताए। आगामी दिनमा अझ जिम्मेवार पत्रकारितामार्फत उक्त विश्वासलाई कायम राख्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
पत्रकारिता समाचार प्रकाशन गर्ने माध्यम मात्र नभई समाजप्रतिको दायित्व र लोकतन्त्रप्रतिको पहरेदारीसमेत भएको बताउँदै बगालेले आवश्यक पर्दा सत्ता र शक्तिलाई प्रश्न गर्ने, गलत प्रवृत्तिमाथि खबरदारी गर्ने तथा जनताको पक्षमा सत्य बोल्ने पत्रकारिताबाट जनसवाल विचलित नहुने स्पष्ट पारे।
उनले आगामी दिनमा खोजमूलक पत्रकारितालाई थप सशक्त बनाउँदै तथ्यमा आधारित समाचार, विश्लेषण र जनसरोकारका विषयलाई प्राथमिकता दिने बताए। विश्वभर छरिएका नेपालीका समस्या, संघर्ष, उपलब्धि, श्रम, सीप, लगानी, सामाजिक सुरक्षा तथा मातृभूमिप्रतिको योगदानलाई नेपालको राष्ट्रिय बहससँग जोड्ने कामलाई थप प्रभावकारी बनाइने उनको भनाइ थियो।
छापा पत्रकारितासँगै डिजिटल उपस्थितिलाई थप सुदृढ बनाउँदै समय र प्रविधिको मागअनुसार पाठकमैत्री, विश्वसनीय, तथ्यपरक र प्रभावकारी सामग्री प्रस्तुत गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
“समय र माध्यम परिवर्तन हुन सक्छन्, तर सत्य, तथ्य, निष्पक्षता, उत्तरदायित्व र जनहितप्रतिको प्रतिबद्धता परिवर्तन हुँदैन,” बगालेले भने।
दुई दशकको यात्रामा जनसवालले नेपालको राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक परिवर्तनका विभिन्न आयामसँगै प्राकृतिक विपत्ति, आर्थिक संकट, श्रम तथा वैदेशिक रोजगारका सवाल र विश्वभर छरिएका नेपालीका समस्या तथा उपलब्धिलाई सार्वजनिक बहसमा ल्याउँदै आएको छ।
केक काटेर मनाइएको वार्षिकोत्सव समारोहमा सहभागी अतिथिहरूले जनसवालको २०औँ वर्ष प्रवेशलाई नेपाली पत्रकारितामा निरन्तरता, संघर्ष र प्रतिबद्धताको महत्वपूर्ण उदाहरणका रूपमा चित्रण गर्दै अध्यक्ष तथा प्रधान सम्पादक रामजी बगालेलगायत सम्पूर्ण जनसवाल परिवारलाई शुभकामना दिए।
विविध सांगीतिक प्रस्तुति तथा शुभकामना आदानप्रदानसहित सम्पन्न समारोहमा सञ्चारकर्मी, पत्रकार, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता थियो।
दुई दशकसम्म साथ, सहयोग, विश्वास र सद्भाव प्रदान गर्ने सम्पूर्ण पाठक, पत्रकार, सञ्चारकर्मी, लेखक, स्तम्भकार, कर्मचारी, विज्ञापनदाता, व्यवसायी, उद्योगी, वैदेशिक रोजगार व्यवसायी, गैरआवासीय नेपाली तथा शुभेच्छुकप्रति जनसवाल परिवारले आभार व्यक्त गरेको छ।
संघर्षका दुई दशक, पाठकको विश्वास र निरन्तरताको अठोटसहित जनसवाल राष्ट्रिय दैनिक २१औँ वर्षमा प्रवेश गरेको छ। नेपालको पक्षमा, जनताको पक्षमा, सत्यको पक्षमा र विश्वभर छरिएका नेपालीको आवाजको पक्षमा आफ्नो कलम अझ सशक्त र निर्भीक रूपमा निरन्तर चलाउने प्रतिबद्धतासहित जनसवालको यात्रा अघि बढेको छ।