गोदावरी–३ का वडाअध्यक्ष राज घिमिरेद्वारा एक महिनासम्म खाद्यान्न र बसोबास खर्च सहयोग गर्ने प्रतिबद्धता

theoutsidenepal.com

बालेनको डोजरपछि घरबारविहीन बनेकालाई सहयोग गर्ने घोषणा

गोदावरी–३ का वडाअध्यक्ष राज घिमिरेद्वारा एक महिनासम्म खाद्यान्न र बसोबास खर्च सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिकाका प्रमुख Balen Shah नेतृत्वमा सञ्चालन भइरहेको डोजर अभियानका कारण प्रभावित बनेका गरिब तथा विपन्न परिवारप्रति सहानुभूति व्यक्त गर्दै गोदावरी नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष तथा समाजसेवी Raj Ghimire ले मानवीय सहयोगको घोषणा गरेका छन्।


आज Ton Media Group को “टन-टक” कार्यक्रममा बोल्दै वडाअध्यक्ष घिमिरेले वर्षायामको कठिन अवस्थामा घरबारविहीन बनेका नागरिकलाई आफूले व्यक्तिगत रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।


उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा भनेका छन्—“बालेन डोजरले घरबार बिहीन भई यो दुखको वर्षाको घडिमा गरिब, विपन्न कोही कसैलाई खान, बस्न अफ्ट्यारो परे मलाई भन्नु होला, म १ महिनाको लागि खाद्यान्न र बस्न १ महिनाको नोमिनल भाडा रकमको व्यवस्था आफ्नैबाट गरिदिनेछु।”


उनले संकटमा परेका नागरिकलाई सहयोग गर्नु नै साँचो धर्म भएको उल्लेख गर्दै देश र जनता रोइरहेको अवस्था आफूले टुलुटुलु हेरेर बस्न नसक्ने बताए। कार्यक्रममा उनले राज्यका निकायहरूले विकास र कानून कार्यान्वयनका क्रममा मानवीय संवेदनशीलतालाई पनि सँगसँगै अघि बढाउनुपर्ने धारणा राखे।


“विकास आवश्यक छ, अव्यवस्थित संरचना हटाउनु पनि आवश्यक हुन सक्छ, तर त्यसका कारण कोही नागरिक भोकै, ओतविहीन र असुरक्षित बन्नु हुँदैन,” उनले कार्यक्रममा भने।


उनले विशेष गरी दैनिक ज्यालादारी गर्ने मजदुर, सुकुम्बासी, विपन्न तथा बालबालिका भएका परिवार अहिले सबैभन्दा बढी मारमा परेको उल्लेख गर्दै स्थानीय सरकार र समाजका सक्षम व्यक्तिहरूले मानवीय उत्तरदायित्व निभाउनुपर्ने बताए।


वडाअध्यक्ष घिमिरेको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा उनको मानवीय पहलको प्रशंसा भइरहेको छ। धेरैले कठिन परिस्थितिमा सहयोगको हात अघि बढाएको भन्दै उनको कार्यलाई उदाहरणीय सामाजिक उत्तरदायित्वको रूपमा लिएका छन्।


सहयोग आवश्यक परेका व्यक्तिहरूलाई उनले सम्पर्क नम्बर ९८०८४३८४५५ मा सम्पर्क गर्न आग्रह गरेका छन्।


प्रतिक्रिया