पूर्वविशिष्टको सवारी सुविधामा सरकार कडाइ—आजै विवरण बुझाउन गृहलाई निर्देशन

theoutsidenepal.com

पूर्वविशिष्टको सवारी सुविधामा सरकार कडाइ—आजै विवरण बुझाउन गृहलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधनबारे विस्तृत विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालय लाई निर्देशन दिएको छ।

बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक स्रोतको दुरुपयोग नियन्त्रण गर्ने उद्देश्यसहित यस्तो कदम अघि बढाएको जनाएको छ। प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनमा केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेकोभन्दा बढी सवारी सुविधा लिएको वा विभिन्न निकायबाट दोहोरो सुविधा उपभोग गरेको तथ्य फेला परेको बताइएको छ।

सोही आधारमा गृह मन्त्रालयसँग स्पष्ट र विस्तृत विवरण माग गरिएको हो। कार्यालयले पठाएको पत्रमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख तथा पूर्वराष्ट्रियसभा अध्यक्षहरूले हाल उपयोग गरिरहेका सवारी साधनको संख्या, स्रोत र प्रयोग अवस्थाबारे पूर्ण विवरण आजै कार्यालय समयभित्र इमेलमार्फत पठाउन ताकेता गरिएको उल्लेख छ।

सरकारको यस कदमलाई सुशासन, पारदर्शिता र सार्वजनिक खर्च नियन्त्रणतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। जनस्तरबाट उठ्दै आएको “अनावश्यक सुविधा कटौती” को मागलाई सम्बोधन गर्दै सरकारले क्रमशः सुधारका कदम अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया