गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय तत्काल सञ्चालन गर्न माग, सुदूरपश्चिमका लागि ‘जीवनमरणको सवाल’
कैलाली। सुदूरपश्चिम प्रदेशमा उच्चस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको दशकौँदेखिको सपना मानिएको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा लाई पूर्ण क्षमतामा तत्काल सञ्चालनमा ल्याउनुपर्ने माग पुनः जोडदार रूपमा उठाइएको छ।
लामो समयदेखि शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा पछि परेको सुदूरपश्चिमका नागरिकका लागि गेटा विश्वविद्यालय आशा र विश्वासको केन्द्र बनेको छ। गम्भीर रोगको उपचार तथा चिकित्सा शिक्षा अध्ययनका लागि काठमाडौं, नेपालगञ्ज वा भारत जानुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले निर्माण गरिएको विश्वविद्यालय अब कुनै पनि बहानामा रोकिन नहुने धारणा व्यक्त गरिएको छ।
हालै डा. गोविन्द केसीको सत्याग्रहका क्रममा विश्वविद्यालय सञ्चालनको विषय राष्ट्रिय बहसमा आए पनि सरकारसँग भएको सहमतिपछि अनशन अन्त्य भएको छ। यससँगै विश्वविद्यालयमा ३०० शैय्याको अस्पताल सञ्चालन, एमबिबिएससहितका शैक्षिक कार्यक्रम सुरु गर्ने, आवश्यक प्राध्यापक तथा स्वास्थ्यकर्मी भर्ना गर्ने, पाठ्यक्रम स्वीकृतिलगायत सम्पूर्ण प्रक्रिया तीव्र गतिमा अघि बढाउनुपर्ने मागलाई थप बल पुगेको छ।
गेटा परियोजनाको इतिहास दुई दशकभन्दा लामो छ। २०५६ सालदेखि जग्गा व्यवस्थापन प्रक्रिया सुरु भएको यो परियोजना सुरुमा मेडिकल कलेजका रूपमा परिकल्पना गरिएको थियो। तर सुदूरपश्चिमवासीको निरन्तर दबाब, संघर्ष र जनआन्दोलनपछि सरकारले यसलाई नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय को रूपमा विकास गर्ने निर्णय गरेको थियो।
विश्वविद्यालय परिसरमा अस्पताल भवन, शिक्षण ब्लक, प्रशासनिक भवन, छात्रावास, चिकित्सक आवाससहित ५० भन्दा बढी आधुनिक संरचना निर्माण सम्पन्न भइसकेका छन्। पूर्ण सञ्चालनमा आएपछि यहाँ एमबिबिएस, बीएस्सी नर्सिङ, अप्टोमेट्री, मेडिकल ल्याबोरेटरी टेक्नोलोजीलगायतका स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
यस विश्वविद्यालयले सुदूरपश्चिमका नागरिक मात्र नभई भारतका सीमावर्ती क्षेत्रका बासिन्दालाई समेत गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ। साथै यसले प्रदेशको स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक गतिविधिमा समेत दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
यद्यपि विश्वविद्यालय सञ्चालनका लागि अझै पनि योग्य नेतृत्व नियुक्ति, पर्याप्त बजेट, अत्याधुनिक उपकरण व्यवस्थापन, अस्पतालको आन्तरिक तयारी तथा दक्ष चिकित्सक र प्राध्यापकलाई आकर्षित गर्ने नीति आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।
राजनीतिक हस्तक्षेप र भागबण्डाभन्दा माथि उठेर विश्वविद्यालयलाई स्वतन्त्र, सक्षम र प्राज्ञिक संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ। सुदूरपश्चिमका नागरिकका लागि गेटा विश्वविद्यालय कुनै राजनीतिक मुद्दा नभई स्वास्थ्य, शिक्षा र समृद्धिसँग जोडिएको ऐतिहासिक परियोजना भएकाले यसको सञ्चालनमा अब थप ढिलाइ गर्न नहुने आवाज बलियो बन्दै गएको छ।