न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच भेटवार्ता
द टन न्युज । न्युयोर्क । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रका अवसरमा न्युयोर्कमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्लाव सिकोरस्कीसँग भेटवार्ता गरेका छन्।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा नेपाल–पोल्यान्ड द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने तथा संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चमा सहकार्य र समन्वय गर्ने विषयमा छलफल भएको जनाइएको छ।
पोल्यान्डको विदेश मन्त्रालयका अनुसार भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक तथा आर्थिक परिवर्तन, विशेषज्ञ सहयोग तथा अन्तर्राष्ट्रिय मामिलाका विषयमा समेत छलफल भएको थियो। साथै, युक्रेनसम्बन्धी विषय र नेपालका नागरिकसँग जोडिएका सुरक्षा सरोकारबारे पनि कुराकानी भएको जनाइएको छ।
परराष्ट्रमन्त्री खनाल सेप्टेम्बर २० देखि न्युयोर्कमा महासभाका विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागी भइरहेका छन्। नेपालले यस महासभामा जलवायु परिवर्तन, जलवायुजन्य विपद्, पुनर्निर्माण तथा अन्तर्राष्ट्रिय सहयोगका विषयलाई प्राथमिकताका साथ उठाउँदैछ।