न्यायको आशामा स्वदेश फर्किए धुर्मुस, भावुक सन्देशले तरंग
काठमाडौं । चर्चित हास्य कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) ले सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै न्यायप्रतिको विश्वास व्यक्त गरेका छन्।
धुर्मुसले आफ्नो स्टाटसमा “न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु” भन्दै आफू स्वदेश फर्किएको जानकारी दिएका छन्। उनले न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुख–दुःख साट्ने र जीवनका घाउहरू निको पार्ने अवसर प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन्।
उनको यो अभिव्यक्तिलाई धेरैले आशा, धैर्यता र न्यायप्रतिको विश्वासको प्रतीकका रूपमा लिएका छन्। पछिल्लो समय विभिन्न विषयमा सार्वजनिक चासो र चर्चाको केन्द्रमा रहेका धुर्मुसको यो सन्देश सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेको छ।
नेपाली कला, मनोरञ्जन र सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका धुर्मुसले कठिन परिस्थितिमा पनि न्याय प्रणालीप्रति विश्वास कायम राख्नुपर्ने सन्देश दिएको टिप्पणी उनका शुभेच्छुकहरूले गरेका छन्।
धुर्मुसको यो भावुक अभिव्यक्तिले आफ्नै देशमा न्याय प्राप्त हुने अपेक्षा राख्ने हजारौं नेपालीको भावना प्रतिबिम्बित गरेको चर्चा भइरहेको छ। उनका समर्थक तथा शुभेच्छुकहरूले उनलाई न्याय मिलोस् भन्ने शुभकामना व्यक्त गर्दै हौसला प्रदान गरिरहेका छन्।
“न्यायप्रतिको विश्वास कहिल्यै नटुटोस्, सत्यको जित अवश्य हुन्छ” भन्ने सन्देशसहित धुर्मुसको पछिल्लो स्टाटस यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।