मधेसका मतदाताले नयाँ दल रोज्दा राजेन्द्र महतो दुःखी

theoutsidenepal.com

काठमाडौँ । राजेन्द्र महतोले मधेस र मधेसी जनताको अधिकारका लागि दशकौँसम्म संघर्ष गरेका दलहरूलाई छाडेर मतदाताले नयाँ दल रोज्दा आफूलाई दुःख लागेको बताएका छन्।


राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोले अधिकारवादी र पहिचानवादी दलले विगतमा गरेका बलिदानीलाई मतदाताले बिर्सिएको भन्दै असन्तुष्टि व्यक्त गरे। “मधेसको अधिकार र पहिचानका लागि यतिका वर्ष संघर्ष गर्यौं, तर निर्वाचनमा जनताले नपत्याउँदा अलिअलि चित्त त दुखेको छ,” उनले भने, “जनताको निर्णयप्रति दुःखी हुन त मिल्दैन, तर अधिकारका लागि छातीमा गोली थाप्नेलाई छाडेर अरुलाई नै रोज्दा मन दुख्नु स्वाभाविक हो।”


महतोले मधेसवादी आन्दोलनकै कारण संविधानमा संघीयता र समावेशीता जस्ता उपलब्धि हासिल भए पनि त्यसको उचित मूल्यांकन चुनावमा हुन नसकेको बताए। साथै, उनले हारका लागि आफ्नै कमजोरी पनि जिम्मेवार रहेको स्वीकार गरे।


उनका अनुसार निर्वाचनअघि मधेस केन्द्रित ६ वटा पार्टीलाई एकै चुनाव चिह्नमा एकताबद्ध गरेर लड्ने प्रयास गरिएको थियो। तर नेताहरूको अतिविश्वास र अहंकारका कारण त्यो प्रयास सफल हुन नसकेको उनले बताए। दलहरू विभाजित हुँदा जनतामा निराशा बढेको र त्यसको फाइदा नयाँ दलहरूले उठाएको उनको भनाइ छ।


“जनताले तिमीहरू मिलेर आउँदैनौ, छुट्टाछुट्टै लडेर के गर्न सक्छौ भनेर सीधै प्रधानमन्त्री बनाउने ठाउँमा भोट हालिदिए,” उनले भने, “विगतका संघर्ष र उपलब्धि बिर्सिएर जनताले हाम्रा समस्या एकैपटक समाधान होस् भनेर नयाँ अनुहार रोजे।”


महतोले आफूहरूले उठाएका पहिचान र अधिकारका एजेन्डा नयाँ दलहरूसँग स्पष्ट रूपमा नरहेको दाबी गर्दै जनताले भावनामा बगेर ‘फास्ट ट्रयाक’ बाट समस्या समाधान हुने अपेक्षा गरेको टिप्पणी गरे।


बुधबार नागरिक दैनिकद्वारा आयोजित ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा प्रधानसम्पादक गुणराज लुइँटेलसँगको संवादमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्।


प्रतिक्रिया