बुक फ्रि फ्राइडे’ ले गोदावरी–१० लाई बनाउँदैछ व्यवहारिक शिक्षाको नमुना वडा

theoutsidenepal.com

कैलाली — गोदावरी नगरपालिका वडा नं. १० का लोकप्रिय तथा विकासमुखी वडा अध्यक्ष रबिन्द्र शाही ‘गुड्डु’को दूरदर्शी नेतृत्वमा सुरु गरिएको ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम वडाभित्र शैक्षिक रूपान्तरणको प्रभावशाली अभियानका रूपमा स्थापित हुँदै गएको छ। विद्यार्थीको शैक्षिक गुणस्तर सुधारसँगै व्यवहारिक, सिर्जनात्मक र जीवनोपयोगी सीप विकास गर्ने लक्ष्यसहित सुरु गरिएको यो कार्यक्रम अहिले गोदावरी–१० को शैक्षिक पहिचानकै ब्रान्ड बन्दै गएको छ।


२०८१ सालदेखि नमुना अभ्यासका रूपमा श्री जानकी माध्यमिक विद्यालयबाट सुरु गरिएको यो अभिनव पहल आज वडाभित्रका शैक्षिक संस्थामा सकारात्मक परिवर्तनको प्रतीक बनेको छ। पाठ्यपुस्तक केन्द्रित परम्परागत शिक्षापद्धतिलाई चुनौती दिँदै विद्यार्थीलाई हरेक शुक्रबार कक्षा बाहिरको जीवनसँग जोडिएको सिकाइमा सहभागी गराउने अभ्यास ले शिक्षा प्रणालीमै नयाँ आयाम थपेको छ।


बुक फ्रि फ्राइडे अन्तर्गत विद्यार्थीहरूलाई सिर्जनात्मक लेखन, चित्रकला, वक्तृत्वकला, सांस्कृतिक प्रस्तुति, नेतृत्व विकास, समूहकार्य, जीवन सीप र व्यवहारिक अभ्यासमा सहभागी गराइँदै आएको छ। यसले विद्यार्थीमा लुकेको प्रतिभा उजागर हुनुका साथै आत्मविश्वास, नेतृत्व क्षमता र सहकार्य संस्कारको उल्लेखनीय विकास भएको विद्यालय प्रशासनको भनाइ छ।


कार्यक्रमको प्रभाव विद्यार्थीमा मात्र सीमित नरही शिक्षक र अभिभावकस्तरसम्म सकारात्मक रूपमा फैलिन थालेपछि गोदावरी नगरपालिका वडा नं. १० ले आर्थिक वर्ष २०८२/०८३ का लागि वडाभित्रका चारवटै विद्यालयमा बुक फ्रि फ्राइडे कार्यक्रम विस्तार गर्न बजेटसहित औपचारिक व्यवस्था गरेको छ। यससँगै कार्यक्रम वडा तहबाट संस्थागत रूपमा लागू भई दीर्घकालीन शैक्षिक सुधारको आधार बन्न पुगेको छ।


विशेषतः यस पालिकाभित्र धेरै सामुदायिक विद्यालयहरू बन्द अवस्थामा रहेका बेला पनि गोदावरी–१० का सामुदायिक विद्यालयहरूले बुक फ्रि फ्राइडे कार्यक्रममार्फत ८५औँ शहिद दिवसलाई सिर्जनात्मक रूपमा मनाउँदै शिक्षा र देशप्रेमलाई एकैसाथ जोड्ने उदाहरणीय अभ्यास गरेका छन्। कार्यक्रममा विद्यार्थीहरूले शहिदप्रति समर्पित कविता, चित्रकला, वक्तृत्वकला तथा सांस्कृतिक प्रस्तुतिमार्फत राष्ट्रप्रेम र सामाजिक चेतनाको सन्देश दिएका थिए।


वडा अध्यक्ष रबिन्द्र शाही ‘गुड्डु’ले शिक्षा केवल पाठ्यपुस्तकमा सीमित हुनु नहुने स्पष्ट पार्दै व्यवहारिक, सिर्जनात्मक र जीवनसँग प्रत्यक्ष जोडिएको शिक्षा आजको आवश्यकता भएको बताएका छन्।“विद्यार्थीलाई किताबी ज्ञानसँगै जीवन जिउन सक्ने सीप दिनु नै हाम्रो दीर्घकालीन लक्ष्य हो। बुक फ्रि फ्राइडे मार्फत हामी भविष्यका सक्षम, आत्मनिर्भर र नेतृत्वदायी नागरिक तयार गर्दैछौँ,” उनले भने।


स्थानीयवासी, शिक्षाविद् र अभिभावकहरूको विश्वास अनुसार यो पहलले गोदावरी–१० लाई व्यवहारिक शिक्षाको नमुना वडा को रूपमा स्थापित गर्दै अन्य वडाहरू र पालिकाका लागि प्रेरणादायी मोडेल बन्ने दिशामा अघि बढाएको छ।


प्रतिक्रिया