गौरीलाई त्यतिबेलै पक्राउ गर्न चाहन्थे प्रधानमन्त्री बालेन शाह

theoutsidenepal.com

गौरीलाई त्यतिबेलै पक्राउ गर्न चाहन्थे प्रधानमन्त्री बालेन शाह

काठमाडौं — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। काठमाडौं उपत्यकामा ग्यासको चरम अभाव देखिएको समयमा व्यवस्थापन प्रभावकारी बनाउन नसकेको आलोचनाबीच उनले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन्।

प्रधानमन्त्री बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर राजीनामा बुझाएकी यादव भावुक हुँदै फर्किएकी थिइन्।

तर, यादवको राजीनामाको कारण ग्यास अभावलाई मात्र मानिएको छैन। यसअघि नै प्रधानमन्त्री शाहको सचिवालयले उनलाई पदबाट हटाउने तयारी गरेको बताइएको छ।

समाचार स्रोतका अनुसार पेट्रोलियम पदार्थको मूल्य आफूखुसी घटाएको तथा त्यससम्बन्धी सूचना चुहाएको आशंकामा प्रधानमन्त्री शाहले तत्कालीन समयमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई निर्देशन दिँदै यादवलाई पक्राउ गर्नसमेत भनेका थिए।

तर, सांसद रहेकी यादवलाई त्यसरी पक्राउ गर्न नमिल्ने भन्दै प्रहरी महानिरीक्षक कार्कीले असहमति जनाएपछि तत्काल पक्राउ गर्ने योजना अघि बढ्न सकेन।

त्यसको भोलिपल्ट प्रधानमन्त्रीको सचिवालयबाट यादवसँग सोधपुछ गर्दै राजीनामा मागिएको भए पनि उनले तत्काल राजीनामा दिन अस्वीकार गरेकी थिइन्। त्यसबेला उनलाई मन्त्री पदबाट नहटाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसमेत सक्रिय भएको बताइएको छ।

त्यतिबेला पद जोगाउन सफल भएकी यादवले अहिले भने आफैं राजीनामा दिएकी हुन्। उनी गत चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेकी थिइन्। करिब पाँच महिना अर्थात् १५३ दिन मन्त्रालयको नेतृत्व गरेपछि उनले पदबाट राजीनामा दिएकी हुन्।

यादवको राजीनामासँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नयाँ नेतृत्व आउने प्रक्रिया अघि बढेको छ।


प्रतिक्रिया