शरीरले साथ नदिएपछि पूर्वसभामुख महराको सक्रिय राजनीतिबाट सन्यास
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि सक्रिय राजनीतिबाट औपचारिक रूपमा सन्यास लिएको घोषणा गर्नुभएको छ।
महराले आज जारी गरेको भावुक वक्तव्यमा आफू नसा र मांसपेशी क्रमशः खुम्चिँदै जाने ‘एट्रोफी’ नामक जटिल रोगबाट पीडित रहेको उल्लेख गर्दै स्वास्थ्यले साथ नदिएकै कारण जिम्मेवारीबाट पछि हट्न बाध्य भएको बताउनुभएको छ।
उहाँले पार्टीभित्र कुनै असन्तुष्टि, गुनासो वा वैचारिक मतभेदका कारण नभई विशुद्ध स्वास्थ्य समस्याका कारण सक्रिय राजनीतिबाट बिदा लिनुपरेको स्पष्ट पार्नुभएको छ। अब आफू पार्टीको साधारण सदस्यका रूपमा मात्र रहने उहाँको भनाइ छ।
निरन्तर उपचार र थेरापीका बाबजुद स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि पार्टीको जिम्मेवारीमा रहेर न्याय गर्न नसक्ने महसुस गर्दै पद त्याग्ने निर्णय गरेको महराले उल्लेख गर्नुभएको छ।
लामो राजनीतिक यात्रालाई विश्राम दिँदै उहाँले शरीर कमजोर भए पनि देश, जनता र समृद्ध नेपालको सपनाप्रतिको आफ्नो प्रतिबद्धता अन्तिम श्वाससम्म कायम रहने विश्वास व्यक्त गर्नुभएको छ। महराको यो घोषणासँगै नेपाली राजनीतिमा लामो समय सक्रिय भूमिका निर्वाह गरेका एक अनुभवी नेताको सक्रिय राजनीतिक यात्रा औपचारिक रूपमा टुंगिएको छ।