बैतडी । बैतडीको मेलौली नगरपालिका–५ मा नेकपा एमालेका दर्जनौँ प्रभावशाली नेता–कार्यकर्ताले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। आज आयोजित कांग्रेसको चुनावी आमसभामा उनीहरू औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।
स्थानीय तहको २०४९ सालको निर्वाचनमा तत्कालीन महारुद्र गाविस–२ का वडा अध्यक्ष निर्वाचित भएका सुन्दर दयालसहित नगर कमिटी उपाध्यक्ष परमानन्द पन्त, वीर पन्त, रघु पोखरेल, बिमला पन्त, विस्ना पन्तलगायतका नेताहरूले एमाले परित्याग गर्दै कांग्रेस रोजेका छन्।
नवप्रवेशीहरूलाई कांग्रेस नेताहरूले खादा र टीका लगाएर भव्य स्वागत गरेका थिए। कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार चतुर बहादुर चन्द, कांग्रेस बैतडीका उपसभापति वीर बहादुर बिष्ट, सचिव प्रेम बहादुर चन्द तथा मेलौली नगर सभापति प्रमानन्द भट्टलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै चतुर बहादुर चन्दले बैतडीको समग्र विकास, युवालाई रोजगारी, सडक, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठोस परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “यो चुनाव केवल पार्टीको होइन, बैतडीको भविष्यको चुनाव हो। जनताको भरोसा नै मेरो शक्ति हो।”
मेलौली–५ मा एमालेका प्रभावशाली व्यक्तिहरू कांग्रेस प्रवेश गरेपछि स्थानीय राजनीतिक माहोल झनै तातेको छ। विश्लेषकहरूका अनुसार यस घटनाले आगामी निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ। गाउँ–टोलमा कांग्रेसप्रति आकर्षण बढ्दो छ भने घरदैलो अभियानमा उत्साहजनक सहभागिता देखिएको छ।
कांग्रेस बैतडीले चुनाव लक्षित अभियानलाई तीव्रता दिएको जनाएको छ। मतदाता भेटघाट, छलफल र सार्वजनिक प्रतिबद्धतामार्फत पार्टीले जनविश्वास मजबुत बनाउँदै लगेको दाबी गरिएको छ।
स्थानीय राजनीतिक वृत्तमा अहिले एउटै चर्चा छ—बैतडीमा कांग्रेसको माहोल उकालो लाग्दैछ। विशेषगरी चतुर बहादुर चन्दलाई विकासप्रेमी, भिजन भएका र अन्तर्राष्ट्रिय पहुँच राख्ने नेताका रूपमा हेरिँदै आएको छ।
जनताको साथ, कार्यकर्ताको उत्साह र विपक्षी दलका नेताहरूको समेत समर्थन थपिँदै जाँदा बैतडीमा चतुर बहादुर चन्दलाई ‘जीत्नैपर्ने मान्छे’ का रूपमा प्रस्तुत गरिएको छ।
आगामी निर्वाचनले यसको औपचारिक पुष्टि गर्नेछ, तर वर्तमान माहोलले कांग्रेसको जितको संकेत बलियो बन्दै गएको देखिन्छ।