‘लालपुर्जाको नाममा ढुकुटी सिध्याउने खेल अब बन्द हुन्छ’ : सांसद केपी खनाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य केपी खनालले लालपुर्जाको नाममा वर्षौंदेखि भइरहेको राजनीतिक खेल अब अन्त्य हुने बताएका छन्।
प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल तथा मन्त्रालयका कर्मचारीहरूको उपस्थितिमा मन्त्रालयको प्रगति समीक्षा र आगामी कार्ययोजनामाथि छलफल गर्दै खनालले यस्तो धारणा राखेका हुन्।
बैठकमा बोल्दै उनले ऐलानी जग्गा र सार्वजनिक जग्गा अतिक्रमणको विषयलाई स्पष्ट रूपमा छुट्याएर हेर्नुपर्ने बताए।
उनले भने,
“मलाई ऐलानी जग्गाको कुरा निकालेर विवादमा ल्याउन खोजियो, तर ती भ्रम छर्नेहरूले बुझेनन् कि म त्यही भुइँमान्छेको छोरो हुँ, जसको परिवारले पुस्तौँदेखि माटो सिँच्यो तर स्वामित्व पाएन। म जस्ता लाखौँ युवा आज पनि आफ्नै आँगनमा ‘अनागरिक’ झैँ बाँचिरहेका छन्।”
खनालले सार्वजनिक जग्गा नमासी पुस्तौँदेखि बसोबास गरिरहेका अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिनुपर्ने धारणा राख्दै वास्तविक सुकुमवासीको बसोबास अधिकार सुनिश्चित गर्न राज्यले अभिभावकत्व ग्रहण गर्नुपर्ने बताए।
उनले विगतका सरकारप्रति कटाक्ष गर्दै सात दशकदेखि लालपुर्जाको सपना देखाएर अर्बौँ रुपैयाँ कार्यकर्ता पाल्न खर्च गरिएको आरोप लगाए।
“२२ वटा आयोग बने, तर राज्यको ढुकुटी सिध्याउने बाहेक ठोस काम भएन,” उनले भने, “अब पार्टीको झण्डा बोक्ने कार्यकर्ता होइन, प्रविधि र माटो बुझ्ने विज्ञ सम्मिलित शक्तिशाली समिति बनाउनुपर्छ।”
सांसद खनालले आफू संसदमा केवल कुर्सी ओगट्न नआएको स्पष्ट पार्दै चुनावका बेला गरेको प्रतिबद्धता सम्झिए।
“मैले चुनावमा भनेको थिएँ— म लालपुर्जाको नाममा राजनीति होइन, परिणाम दिन जानेछु। मेरो लागि सांसदको लोगोभन्दा ठूलो त्यो रातो पुर्जाको कागज हो, जसले देशभरका नागरिकलाई आफ्नै माटोको मालिक बनाउनेछ,” उनले भने।
उनले रास्वपाको नेतृत्वमा रहेको “बालेन सरकार” बाट अब लालपुर्जाको नाममा हुने राजनीतिक खेल बन्द हुने दाबी समेत गरेका छन्।