कञ्चनपुर–२ बाट निर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता दीपक बोहराले नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदसँग भेटघाट गरेका छन्। निर्वाचन परिणामपछि भएको भेटमा दुवै नेताबीच हार्दिकता साटासाट भएको बोहराले बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बोहराले जनताको अमूल्य मतले कञ्चनपुर–२ मा परिवर्तनको नयाँ अध्याय सुरु गरेको उल्लेख गरेका छन्। उनले लोकतान्त्रिक प्रक्रियाबाट आएको जनादेशलाई सम्मान गर्दै प्रतिस्पर्धी उम्मेदवार साउदसँग भेटेर शुभेच्छा आदानप्रदान गर्ने अवसर पाएको बताए।
बोहराले निर्वाचनमा प्रतिस्पर्धा विचार र नीतिको हुने तर सम्बन्ध र आपसी सम्मान सधैं कायम रहने उल्लेख गर्दै सबै राजनीतिक शक्तिको साझा लक्ष्य जनताको सेवा र देशको हित रहेको धारणा व्यक्त गरेका छन्।
उनले जनताले दिएको जिम्मेवारी पूरा गर्ने यात्रामा संवाद, सहकार्य र आपसी सम्मान अझ बलियो बनाउने विश्वास व्यक्त गर्दै कञ्चनपुर–२ का जनताको आशा र विश्वासलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।