भोटेकोशी बाढीपीडितको पीडामा राजशान्ति फाउन्डेसनको मानवीय साथ, गल्छी–६ का ५६ परिवारलाई राहत

theoutsidenepal.com

भोटेकोशी बाढीपीडितको पीडामा राजशान्ति फाउन्डेसनको मानवीय साथ, गल्छी–६ का ५६ परिवारलाई राहत

द टन न्युज | विशेष रिपोर्ट

भोटेकोशी बाढीका कारण धादिङको गल्छी गाउँपालिका–६ मा ठूलो मानवीय, सामाजिक, आर्थिक तथा भौतिक क्षति भएको छ। बाढीका कारण धेरै परिवार घरबारविहीन बनेका छन् भने कतिपयको घर पूर्णरूपमा ध्वस्त भएको छ। वर्षौंदेखि मेहनत गरेर बनाएको घर, सम्पत्ति तथा दैनिक जीविकोपार्जनका आधारहरू एकैपटक बाढीले बगाएपछि पीडित परिवार अहिले गाँस, बास र कपासको गम्भीर समस्यामा परेका छन्।


बस्ने घर छैन, कतिपयसँग लगाउने लुगा छैन र दैनिक जीवन सञ्चालन गर्न आवश्यक खाद्यान्न तथा अन्य सामग्रीको समेत अभाव छ। सरकारले केही पीडित परिवारलाई अस्थायी बसोबासको व्यवस्था गरे पनि बाढीले सिर्जना गरेको संकट अझै गहिरो छ।


भौतिक संरचना र आर्थिक क्षतिसँगै यस विपत्तिले नागरिकको मानसिक अवस्थामासमेत ठूलो असर पारेको छ। आफ्नो घर, पसल, सम्पत्ति र वर्षौंको मेहनत गुमाउँदा पीडितहरू निकै निराश, त्रसित र मानसिक रूपमा कमजोर बनेका छन्। यस्तो कठिन र पीडादायी अवस्थामा पीडितको हातमा राहत र मनमा आशाको सन्देश पुर्‍याउने उद्देश्यले बेलायतमा बस्दै आएका समाजसेवी राजशान्ति सुनारको नेतृत्वमा रहेको Rajshanti Foundation ले गल्छी गाउँपालिका–६ का ५६ पीडित परिवारका लागि राहत सहयोग गरेको छ।


Rajshanti Foundation को तर्फबाट ५६ परिवारका लागि विशेष राहत प्याकेज तयार गरी हस्तान्तरण गरिएको हो। प्रत्येक परिवारलाई एक कार्टुन चाउचाउ, ५ किलो चिउरा, एक प्याकेट चकलेट, एक दर्जन बिस्कुट, १० प्याकेट सेनेटरी प्याड र दुई पत्ता प्यारासिटामोल राखेर छुट्टाछुट्टै राहत प्याकेज तयार गरिएको थियो।


यी सबै सामग्री इमाडोलस्थित द टन न्युजको प्रधान कार्यालयमा व्यवस्थित रूपमा प्याकेज तयार गरी आज बाढीपीडित परिवारसम्म पुर्‍याएर हस्तान्तरण गरिएको हो। विपद्को समयमा अत्यावश्यक खाद्यान्नसँगै महिला तथा स्वास्थ्यसम्बन्धी सामग्रीसमेत समेटेर तयार गरिएको राहत प्याकेज पीडित परिवारका लागि निकै महत्वपूर्ण बनेको छ। राहत प्राप्त गरेपछि पीडित परिवारले राजशान्ति सुनार तथा Rajshanti Foundation प्रति धन्यवाद व्यक्त गर्दै खुसीसमेत व्यक्त गरेका छन्।


पीडितहरूका लागि यो सहयोग केवल केही खाद्यान्न तथा औषधिको प्याकेज मात्र नभएर आफूहरू संकटमा हुँदा देश–विदेशबाट आफ्नो पीडा बुझ्ने मानिसहरू साथमा छन् भन्ने भरोसाको आधारसमेत बनेको छ। राहत हस्तान्तरण कार्यमा गल्छी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष दीपक कार्की तथा गाउँपालिकाकै स्थानीय एवं एनआरएनए नेता बिक्रम ढकालले आवश्यक सहजीकरण गर्नुभएको थियो।


बेलायतमा रहेर पनि नेपाललाई आफ्नो मनमा बोकेर निरन्तर सामाजिक तथा मानवीय सेवामा सक्रिय राजशान्ति सुनार र उहाँकी धर्मपत्नी शान्ति सुनारको जोडी सामाजिक सेवाका लागि परिचित हुँदै आएको छ। उनीहरूले आफ्नो सामाजिक अभियानलाई Rajshanti Foundation मार्फत निरन्तर अगाडि बढाउँदै आएका छन्। सामाजिक सञ्जालमा समेत राजशान्ति सुनारको नामबाट श्रीमान्–श्रीमती दुवैलाई जोडेर बनाइएको फेसबुक पहिचानमार्फत लाखौँ मानिससँग जोडिँदै आएका यो जोडीले लामो समयदेखि नेपालमा विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्दै आएको छ। केही दिनअघि मात्रै शान्ति सुनारको शुभजन्मदिन परेको थियो। देश विपत्तिमा परेका बेला व्यक्तिगत जन्मदिनको खुसीलाई मात्र प्राथमिकता नदिई पीडित नागरिकसँग खुसी बाँड्ने निर्णय राजशान्ति दम्पतीले गरेका थिए।


त्यही मानवीय भावनाबाट प्रेरित भएर यसपटक भोटेकोशी बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरिएको हो। बेलायतमा बसेर आफ्नो जीवनको ठूलो हिस्सा विदेशमा बिताइरहे पनि नेपालमा परेको दुःख, पीडा र संकटलाई आफ्नै पीडा सम्झेर सहयोगको हात अघि बढाउने राजशान्ति दम्पतीको यो अभियानले प्रवासी नेपालीको नेपालप्रतिको माया र सामाजिक उत्तरदायित्वको एउटा सुन्दर उदाहरण प्रस्तुत गरेको छ।


यस मानवीय अभियानमा द टन न्युज पनि प्रत्यक्ष रूपमा जोडिएको छ। Rajshanti Foundation को नेतृत्व तथा सहकार्यमा द टन न्युजले राहत वितरणसँगै बाढी प्रभावित विभिन्न क्षेत्रको स्थलगत अवस्था र पीडित नागरिकका आवाजलाई प्राथमिकताका साथ उठाउने कामसमेत गरेको छ। द टन न्युजको टोलीले गल्छी–६, नुवाकोटको देवीघाट, त्रिशूली क्षेत्र, भोटेकोशी बाढीबाट प्रभावित विभिन्न बस्ती, भत्किएका झोलुङ्गे पुल, नेपाली सेनाले पाँच दिन लगाएर निर्माण गरेको एक्रो ब्रिज, देवीघाट बजारलगायतका प्रभावित क्षेत्रमा पुगेर त्यहाँका नागरिकको वास्तविक अवस्था प्रत्यक्ष रूपमा सुनेको र क्यामेरामा कैद गरेको छ।


बाढीका कारण आवतजावतदेखि व्यापार–व्यवसायसम्म प्रभावित भएका नागरिकका समस्या, घरबार गुमाएका परिवारको पीडा, भौतिक संरचनाको विनाश र पुनःस्थापनाका चुनौतीलाई द टन न्युजले स्थलगत रिपोर्टमार्फत सम्बन्धित निकाय तथा आम नागरिकसम्म पुर्‍याउने काम गर्दै आएको छ। पीडितको आवाज केवल क्यामेरामा कैद गरेर रोक्ने होइन, उनीहरूको समस्या सम्बन्धित निकायसम्म पुर्‍याउने र राहत तथा पुनर्स्थापनाको अभियानमा सञ्चारमाध्यमको जिम्मेवारी निर्वाह गर्ने उद्देश्यका साथ द टन न्युज निरन्तर मैदानमा सक्रिय रहेको छ।

विपद्को यस्तो कठिन घडीमा पीडित नागरिकको हात समात्नु, उनीहरूको पीडा सुन्नु र आवश्यक सहयोग पुर्‍याउनु नै सबैभन्दा ठूलो मानवीय धर्म हो। गल्छी गाउँपालिका–६ का ५६ परिवारलाई Rajshanti Foundation ले गरेको यो राहत सहयोगले विपद्मा परेको समुदायलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउनुका साथै आशा र आत्मबलसमेत दिएको छ। बाढीले भौतिक संरचना ध्वस्त बनाए पनि मानवीय एकता, सहकार्य र सहयोगको भावना अझ बलियो बन्न सक्ने सन्देश यो अभियानले दिएको छ। बेलायतमा ज्यान र नेपालमा मन राखेर सामाजिक सेवामा निरन्तर सक्रिय राजशान्ति सुनार र शान्ति सुनारको जोडीले आफ्नो व्यक्तिगत खुसीलाई समेत विपद्मा परेका नेपाली नागरिकसँग बाँड्दै गरेको यो मानवीय कार्य वास्तवमै प्रशंसनीय छ। द टन न्युजका प्रधान सम्पादक एचबी ताम्राकारको नेतृत्वमा रहेको मिडियालाई विश्वास र माया गर्दै यस्तो विशेष तथा पवित्र मानवीय कार्यमा जोडिने अवसर दिएकोमा द टन न्युज परिवार राजशान्ति दम्पती तथा Rajshanti Foundation प्रति हार्दिक आभार, सम्मान र नमन व्यक्त गर्दछ। आगामी दिनमा पनि Rajshanti Foundation को मानवीय सेवा अझ व्यापक र प्रभावकारी बन्दै जाओस्, विपद्मा परेका नागरिकको आँसु पुछ्ने अभियान निरन्तर अघि बढोस् र राजशान्ति सुनार तथा शान्ति सुनारको यो महान् सामाजिक यात्राले अझ धेरै जीवनमा आशा, सहयोग र मुस्कान ल्याओस् भन्ने शुभकामना व्यक्त गर्दछ।

द टन न्युज परिवारको तर्फबाट राजशान्ति दम्पती र Rajshanti Foundation लाई हार्दिक सम्मान तथा नमन।


प्रतिक्रिया