सुहाङ नेम्वाङ पुनः चुनावी मैदानमा, इलाममा लोकप्रिय युवा नेता जीत नजिक

theoutsidenepal.com

इलाम, फागुन — बुवा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङ पुनः इलाम–२ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रनुभएको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै इलाम–२ मा चुनावी सरगर्मी बढ्दै गएको छ भने सुहाङ नेम्वाङ यसपटक पनि जीत नजिक रहेको चर्चा व्यापक बनेको छ।


२०४६ साल फागुन ६ गते काठमाडौंमा जन्मिनुभएका सुहाङले ग्यालेक्सी पब्लिक स्कुलबाट नर्सरी शिक्षा सुरु गरी जगत मन्दिरबाट एसएलसी उत्तीर्ण गर्नुभयो। ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ पूरा गरी अढाइ वर्ष अष्ट्रेलिया बस्नुभएका उहाँ कानुन अध्ययनका लागि पुनः नेपाल फर्कनुभयो। काठमाडौं स्कूल अफ लबाट बीएएलएलबी अध्ययन सम्पन्न गरी एलएलएमसमेत पूरा गर्नुभएको छ, यद्यपि थेसिस भने समयाभावले बाँकी रहेको बताइन्छ।



खेलकुद र सामाजिक योगदान



शैक्षिक जीवनसँगै खेलकुदमा गहिरो रुचि राख्ने सुहाङले बुवाको सल्लाहअनुसार “मेची डि स्पोर्टिङ क्लब” स्थापना गर्नुभएको थियो। खेलकुद क्षेत्रको विकासमार्फत युवालाई सकारात्मक मार्गतर्फ डोर्‍याउने लक्ष्य उहाँको प्रमुख प्राथमिकतामध्ये एक मानिन्छ।



पहिलो कार्यकालका उपलब्धि



पहिलोपटक सांसद निर्वाचित भएपछि इलाम–२ का ४२ वटै वडामा पुगेर जनगुनासा संकलन गर्दै कृषिको आधुनिकीकरण, उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा पहल गरेको उहाँको दाबी छ। अधुरा योजनालाई गति दिने, नीति निर्माण तहमा इलामका मुद्दा पुर्‍याउने र विकासका कामलाई अनुमोदन गराउने विषयमा सक्रिय भूमिका खेलेको स्थानीयको मूल्यांकन छ।



युवा लहर र लोकप्रियता



जेनेरेशन Z (२३/२४ को युवा आन्दोलन) पछि देश पुनः निर्वाचनमय बनेको सन्दर्भमा सुहाङ नेम्वाङलाई युवा पुस्ताको प्रतिनिधि नेताका रूपमा हेरिएको छ। सरल, सक्रिय र प्रभावशाली व्यक्तित्वका रूपमा परिचित उहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का लोकप्रिय युवा नेता मानिनुहुन्छ।



साझा मुद्दामा सहकार्यको प्रतिबद्धता



उहाँले यसअघि विजयी हुँदै गर्दा चुनावी मैदानका सबै उम्मेद्वारले उठाएका मुद्दा इलामका साझा मुद्दा भएको उल्लेख गर्दै सहकार्य र छलफलमार्फत समाधान खोज्ने प्रतिबद्धता जनाउनुभएको थियो। “इलाम मेरो परिवार हो, यहाँका बुबा–आमा, दाजुभाइ–दिदीबहिनीको आँसु र आशा मेरो जिम्मेवारी हो,” भन्ने उहाँको अभिव्यक्ति अहिले पनि चुनावी सभामा दोहोरिँदै आएको छ।



धन्यवाद र अपिल



उहाँले अघिल्लो निर्वाचनमा समर्थन गर्ने इलाम–२ का मतदाता, निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी तथा पार्टी पङ्क्तिप्रति कृतज्ञता व्यक्त गर्दै यसपटक पनि विकास र स्थायित्वका पक्षमा मत दिन आग्रह गर्नुभएको छ।


इलाम–२ मा फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा सुहाङ नेम्वाङको लोकप्रियता र युवा समर्थनले चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार उहाँ यसपटक पनि जीत नजिक देखिनुहुन्छ।


प्रतिक्रिया