रास्वपाद्वारा ‘राइट टु रिकल’ प्रयोगको तयारी, मन्त्री दीपककुमार शाह फिर्ता बोलाइने संकेत

theoutsidenepal.com

सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केही मन्त्रीलाई फिर्ता बोलाउने तयारी थालेको छ। पार्टीले आफ्नो विधानअनुसार ‘राइट टु रिकल’ व्यवस्था प्रयोग गर्ने संकेत दिएको हो।


पार्टीका सभापति रवि लामिछाने ले सरकार गठनको पूर्वसन्ध्यामा सांसदहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा उक्त व्यवस्थाबारे जानकारी गराएका थिए। सोही आधारमा अहिले विवादमा परेका मन्त्रीलाई फिर्ता बोलाउने प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ।


यसक्रममा प्रधानमन्त्री बालेन शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार शाह लाई मन्त्रिपरिषद्बाट हटाउने तयारी गरेका छन्। यसबारे पार्टीको अनुशासन समितिमा छलफल भइरहेको बताइएको छ।


विवादको जरो भने बीमा बोर्डसँग जोडिएको छ। २०८० मंसिरमा तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत ले मन्त्री शाहकी पत्नी जुनु श्रेष्ठलाई बीमा बोर्डको सदस्यमा नियुक्त गरेका थिए। लगातार बैठकमा अनुपस्थित भएपछि उनी निलम्बनमा परेकी थिइन्। तर पछि मन्त्री शाहकै पहलमा पुनः बोर्ड सदस्यमा फर्काइएको आरोप लागेपछि उनी विवादमा परेका हुन्।


पार्टीको नीति अनुसार विवादमा परेका मन्त्रीलाई फिर्ता बोलाउने व्यवस्था रहेकाले ‘राइट टु रिकल’ प्रयोग गरी मन्त्री शाहलाई हटाउने तयारी गरिएको हो।


मन्त्री शाह महोत्तरी–२ बाट निर्वाचित सांसद हुन्।


प्रतिक्रिया