काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ वृहत् एकता महाधिवेशनबाट महिला सह–कोषाध्यक्ष पदमा गंगा खातीवडा निर्विरोध चयन हुनुभएको छ। उहाँले आफ्नो चयनप्रति सम्पूर्ण प्रतिनिधि, अग्रज तथा सहकर्मीहरूप्रति आभार व्यक्त गर्दै संस्थाप्रति पूर्ण समर्पणका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
“Our Unity, Base for Prosperity (हाम्रो एकता, समृद्धिको आधार)” भन्ने मूल नारालाई आत्मसात गर्दै अध्यक्षमा सर्वसम्मत निर्वाचित डा. हेमराज शर्मा लगायत सम्पूर्ण नव–निर्वाचित कार्यसमितिलाई उहाँले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
नवनिर्वाचित महिला सह–कोषाध्यक्ष गंगा खातीवडाले संस्थाको गरिमा, पारदर्शिता र एकताको भावनालाई केन्द्रमा राख्दै जिम्मेवारी निर्वाह गर्ने स्पष्ट धारणा राख्नुभएको छ। उहाँले एनआरएनएलाई अझ सुदृढ, समावेशी र परिणाममुखी संस्थाको रूपमा अगाडि बढाउन सबैको साथ, सहकार्य र सुझाव आवश्यक रहेको बताउनुभयो।
उहाँले एकताको भावनाले नै समृद्धिको मार्ग निर्माण गर्ने विश्वास व्यक्त गर्दै सबै मिलेर एनआरएनएको उज्ज्वल भविष्य निर्माण गर्न सकिने दृढता व्यक्त गर्नुभएको छ।
एनआरएनएभित्र महिला नेतृत्वको सशक्त उपस्थिति बढ्दै गएको सन्दर्भमा गंगा खातीवडाको चयनलाई सकारात्मक र प्रेरणादायी कदमका रूपमा लिइएको छ।