सुनसरी घटनापछि प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को राष्ट्रका नाममा सम्बोधन, शान्ति, सद्भाव र संयमताको अपिल

theoutsidenepal.com

सुनसरी घटनापछि प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को राष्ट्रका नाममा सम्बोधन, शान्ति, सद्भाव र संयमताको अपिल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सुनसरीको देवानगञ्ज, सिरहा लगायतका क्षेत्रमा भएका घटनापछि उत्पन्न परिस्थितिलाई सम्बोधन गर्दै राष्ट्रका नाममा विशेष सम्बोधन गर्नुभएको छ।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले सुनसरी घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभयो। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिने सरकारको प्रतिबद्धता पनि दोहोर्‍याउनुभयो।

उहाँले घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयमार्फत छानबिन समिति गठन भइसकेको जानकारी दिँदै दोषी जो–कोही भए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पार्नुभयो। साथै, गृहमन्त्री सुदन गुरुङ सुरक्षा निकायका उच्च अधिकारीसहित घटनास्थलतर्फ गएको र सरकारले सर्वदलीय बैठक तथा राष्ट्रिय सुरक्षा परिषद्को बैठकमार्फत आवश्यक निर्णय गरिसकेको जानकारी दिनुभयो।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा अफवाह, घृणा फैलाउने सामग्री र समुदायबीच वैमनस्य बढाउने गतिविधिबाट टाढा रहन आग्रह गर्दै सरकारी निकायबाट जारी आधिकारिक सूचनामा मात्र विश्वास गर्न अपिल गर्नुभयो।

सम्बोधनको अन्त्यमा उहाँले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक सुनिश्चित गरेको उल्लेख गर्दै कुनै एक स्थानको घटनालाई लिएर सम्पूर्ण समुदायलाई दोषी ठहर गर्नु वा प्रतिशोधको भावना फैलाउनु स्वीकार्य नहुने बताउनुभयो।

प्रधानमन्त्री शाहले सम्पूर्ण नागरिक, राजनीतिक दल, नागरिक समाज, धार्मिक समुदाय तथा सञ्चारमाध्यमलाई धैर्यता, संयमता र जिम्मेवारीका साथ राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति कायम राख्न सरकारको साथ दिन आग्रह गर्नुभयो।


प्रतिक्रिया