गैरआवासीय नेपालीलाई ‘सुप्रिम अर्गानिक इन्भेष्टर’ मान्ने सरकारको प्रस्ताव, वार्षिक एक खर्बको डायस्पोरा बण्ड जारी गर्ने योजना

theoutsidenepal.com

गैरआवासीय नेपालीलाई ‘सुप्रिम अर्गानिक इन्भेष्टर’ मान्ने सरकारको प्रस्ताव, वार्षिक एक खर्बको डायस्पोरा बण्ड जारी गर्ने योजना


द टन न्युज ,काठमाडौँ — सरकारले गैरआवासीय नेपाली (डायस्पोरा) लाई विशेष प्राथमिकता दिँदै ‘सुप्रिम अर्गानिक इन्भेष्टर’ को रूपमा मान्यता प्रदान गर्ने प्रस्ताव अघि सारेको छ। राष्ट्रिय प्रतिबद्धता पत्रको मस्यौदा तयार पार्दै सरकारले पूर्वाधार विकास र निर्यातमूलक उद्योगमा लगानी आकर्षित गर्न वार्षिक एक खर्ब रुपैयाँ बराबरको डायस्पोरा बण्ड जारी गर्ने योजना प्रस्तुत गरेको हो।


सुझावका लागि तयार गरिएको उक्त मस्यौदामा संवैधानिक तथा कानुनी व्यवस्था मार्फत गैरआवासीय नेपालीको नागरिकताको निरन्तरता, पैतृक सम्पत्तिको अधिकार तथा मतदानको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता समेत जनाइएको छ।


‘एकपटकको नेपाली सधैंको नेपाली’ भन्ने अवधारणालाई संस्थागत गर्दै विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई ‘ब्रेन गेन’ का रूपमा उपयोग गरिने मस्यौदामा उल्लेख गरिएको छ।


यसैगरी, डायस्पोराको पुँजी र विज्ञता आकर्षित गर्दै अन्तर्राष्ट्रियस्तरको खेलकुद शहर, उच्च शिक्षा तथा अनुसन्धान केन्द्र, विशिष्टिकृत स्वास्थ्य सेवा र सांस्कृतिक पर्यटन लगायतका क्षेत्रमा विविध आयोजना विकास गरिने तथा ती परियोजनाहरूलाई फास्ट ट्र्याक मोडेलमार्फत अघि बढाइने योजना रहेको छ।


विदेशमा बसोबास गर्ने नेपालीहरूको लगानी प्रवर्द्धन गर्न नेपालीहरूको ठूलो उपस्थिति भएका देशहरूसँग दोहोरो कर प्रणाली अन्त्य गर्ने उद्देश्यले द्विपक्षीय सम्झौता गरिने प्रस्ताव पनि मस्यौदामा समावेश गरिएको छ।


त्यसैगरी, सेवा निवृत्तिपछि मातृभूमि फर्कन प्रोत्साहन गर्ने विशेष प्याकेज ल्याउने योजना समेत सरकारले अघि सारेको छ।


प्रतिक्रिया