आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा निधन
काठमाडौं— वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत २५ वर्षीय गणेश नेपालीको आज बिहान ११:२० बजे निधन भएको छ।
अस्पताल स्रोतका अनुसार उपचारमा संलग्न चिकित्सकले गणेश नेपालीको निधन भएको जानकारी उनका दाजु मदन नेपालीलाई दिएका छन्। अस्पतालले उपलब्ध सबै स्रोत–साधन प्रयोग गरेर उपचार गरे पनि उनलाई बचाउन नसकिएको जनाएको छ।
मुगुको सोरु गाउँपालिका–१ घर भएका गणेश नेपाली हाल भक्तपुरमा श्रीमती र एक छोरीसँग बस्दै आएका थिए। उनी पेशाले राइड सेयरिङ (पठाओ) चालक थिए।
गत बिहीबार दिउँसो करिब १:४५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मोटरसाइकलमा ‘ह्वील लक’ लगाएपछि उनले आफूले चलाएको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा खन्याई आत्मदाहको प्रयास गरेका थिए।
घटनास्थलमा खटिएको प्रहरी टोलीले तत्काल आगो निभाएर उनको उद्धार गरेको थियो। त्यसपछि उनलाई वीर अस्पतालमा भर्ना गरी सघन उपचार गरिए पनि उपचारकै क्रममा आज बिहान उनको निधन भएको हो।