एनआरएनए यूकेद्वारा बाढीपीडितका लागि ४० लाख रुपैयाँ सहयोग

theoutsidenepal.com

एनआरएनए यूकेद्वारा बाढीपीडितका लागि ४० लाख रुपैयाँ सहयोग

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ४० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले अगस्ट ३१ मा आयोजित जुम बैठकमार्फत बाढीपीडितका लागि पहिलो चरणमा ४० लाख रुपैयाँ सहयोग पठाउने जानकारी दिएका हुन्।

यसअघि एनआरएनए यूकेले बाढीपीडितका लागि ५० हजार पाउन्ड (नेपाली करिब १ करोड रुपैयाँ) बराबरको सहयोग गर्ने घोषणा गर्दै कोषमार्फत सहयोग अभियान सञ्चालन गरेको थियो।

अगस्ट २६ मा तिब्बतबाट आएको भीषण बाढी तथा त्यसबाट उत्पन्न बाढीपहिरोका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। विपद्का कारण सयौँ परिवार प्रभावित भएका छन् भने उद्धार, राहत र पुनःस्थापनाको आवश्यकता अझै रहेको छ।

विपद्को यस कठिन समयमा नेपालमा रहेका प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले एनआरएनए यूकेले अघि बढाएको सहयोग अभियानलाई बेलायतमा रहेका नेपाली समुदायको मानवीय एकताका रूपमा हेरिएको छ।

एनआरएनए यूकेको यो सहयोगले बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया