गृहमन्त्रीमा खगेन्द्र सुनारको चर्चा: “मुटु दरो, स्पष्ट बोली” भन्दै प्रवासबाट सुझाव
काठमाडौं।
सुदन गुरुङ ले गृहमन्त्री पदबाट राजीनामा दिएपछि बालेन्द्र शाह नेतृत्वको सरकारमा नयाँ गृहमन्त्री को बन्ने भन्ने विषयले राजनीतिक वृत्तमा व्यापक चर्चा पाएको छ। यही सन्दर्भमा बेलायतबाट वरिष्ठ समाजसेवी राज सान्ति सुनार ले सामाजिक सञ्जालमार्फत रोचक सुझाव सार्वजनिक गरेका छन्।
उनले रास्वपाका केन्द्रीय सदस्य तथा माननीय सांसद खगेन्द्र सुनार लाई गृहमन्त्रीको जिम्मेवारी दिनुपर्ने धारणा व्यक्त गर्दै “मुटु दरो भएको, स्पष्ट बोली र निर्णय क्षमतायुक्त नेतृत्व अहिलेको आवश्यकता हो” उल्लेख गरेका छन्।
सुनारले देशमा सुशासन कायम गर्न, सुरक्षा निकायलाई प्रभावकारी बनाउन र जनतामा विश्वास जगाउन साहसी र निडर नेतृत्व आवश्यक रहेको बताएका छन्। उनले खगेन्द्र सुनारले ती गुण बोकेको दाबी गर्दै अवसर दिनुपर्ने तर्क गरेका छन्।
हाल गृहमन्त्री पद रिक्त रहँदा प्रधानमन्त्री शाह स्वयंले मन्त्रालय सम्हालिरहेका छन् भने नयाँ नियुक्तिको विषयमा विभिन्न राजनीतिक र सामाजिक वृत्तमा बहस तीव्र बन्दै गएको छ।
विश्लेषकहरूका अनुसार प्रवासबाट आउने यस्ता सुझावहरूले सरकारको निर्णय प्रक्रियामा प्रत्यक्ष प्रभाव नपारे पनि जनमत निर्माणमा भने महत्वपूर्ण भूमिका खेल्ने गर्छन्।