निर्वाचनमा जेन्जी महिलाको न्यून सहभागिताप्रति सोनी भट्टराईको गम्भीर आपत्ति

theoutsidenepal.com

काठमाडौं – आगामी निर्वाचनमा देशभरबाट कुल ३,६८७ जनाले उम्मेदवारी दर्ता गराएका छन्, तर तीमध्ये जम्मा १५ जना मात्र जेन्जी महिला रहेको तथ्यांकले लैङ्गिक समावेशितामाथि गम्भीर प्रश्न उठाएको छ।


जेन्जी अभियान्ता सोनी भट्टराईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै समानुपातिक समावेशिताको अवस्था अत्यन्तै कमजोर भएको बताएकी छन्। उनले यसपटक मुद्दा बोकेर अघि बढेका धेरै सक्षम उम्मेदवारहरू समेत पछि परेको देखिएको भन्दै दुःख व्यक्त गरेकी छन्।


भट्टराईले प्रश्न गरेकी छन्, “के यही थियो भाद्र २३ र २४ को म्यान्डेट ? पुराना राजनीतिक प्रवृत्तिबाट निराशा अपेक्षित नै थियो, तर नयाँ भनिएका समूहहरूबाट समेत यस्तो स्तरको अवमूल्यन हुनु झनै पीडादायी छ।”


उनले महिला सहभागितालाई केवल नारामा सीमित नगरी व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै भनिन्, “महिलाले गर्न सक्छन्, अवसर दिनुपर्छ भन्ने कुरा भाषणमै सीमित गर्ने कि व्यवहारमा उतार्ने ?”


साथै, उनले महिलालाई केवल नाममात्र सहभागी गराउने प्रवृत्ति तथा महिला भएकै कारण विभेद र अन्याय सहनुपर्ने अवस्थाको कडा आलोचना गरेकी छन्।


लोकतन्त्रमा प्रश्न उठाउन र बोल्न पाउने अधिकार रहेको उल्लेख गर्दै भट्टराईले यस्तो प्रवृत्तिविरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिएकी छन्।


प्रतिक्रिया