११औँ NRNA एसिया प्यासिफिक सम्मेलन–२०२६ को तयारी तीव्र, क्षेत्रीय संयोजक दीपक कँडेल सक्रिय
ग्वान्झाउ (चीन)। “Rising Together, Leading Forward” भन्ने मूल नारासहित आयोजना हुन लागेको ११औँ NRNA एसिया प्यासिफिक सम्मेलन–२०२६ को तयारी तीव्र गतिमा अघि बढिरहेको छ। अगस्ट १५ र १६ मा चीनको ग्वान्झाउस्थित Crowne Plaza Guangzhou City Centre मा हुने सम्मेलनलाई सफल बनाउन आयोजक टोली विभिन्न चरणका तयारीमा जुटेको जनाएको छ।
सम्मेलनका लागि एनआरएनए आईसीसीका एसिया प्यासिफिक क्षेत्रीय संयोजक दीपक कँडेल निरन्तर समन्वय, व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहभागिता सुनिश्चित गर्न सक्रिय रूपमा खटिएको बताइएको छ। सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रका विभिन्न देशका गैरआवासीय नेपाली, व्यवसायी, समाजसेवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार सम्मेलनमा नेपाल सरकारका अर्थमन्त्री स्वर्णिम वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। उहाँको उपस्थितिले आर्थिक सहकार्य, लगानी, पर्यटन, उद्यमशीलता तथा नेपाल–प्रवासी नेपालीबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।
दीपक कँडेललाई प्रवासी नेपाली समुदायमा सक्रिय एनआरएनए नेताका रूपमा चिनिन्छ। उनी विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपाली समुदायबीच समन्वय, सहकार्य र एकतालाई प्रवर्द्धन गर्ने गतिविधिमा संलग्न रहँदै आएका छन्। यसपटकको सम्मेलनलाई व्यवस्थित, प्रभावकारी र सहभागितामूलक बनाउन उनी आयोजक टोलीसँग निरन्तर समन्वयमा रहेको जनाइएको छ।
सम्मेलनमा गैरआवासीय नेपालीका साझा मुद्दा, लगानीको वातावरण, नेपालको आर्थिक विकासमा प्रवासी नेपालीको भूमिका, युवा सहभागिता, उद्यमशीलता, प्रविधि तथा भविष्यका कार्यदिशाबारे व्यापक छलफल हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
आयोजकले एसिया प्यासिफिक क्षेत्रका साथै विश्वभर रहेका नेपाली समुदायलाई सम्मेलनमा सहभागी भई प्रवासी नेपालीहरूको साझा आवाजलाई थप सशक्त बनाउन आग्रह गरेको छ।