रसुवा बाढीपीडितका लागि नेपाल तामाङ समाज जापानको ६ लाख सहयोग
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि NPO नेपाल तामाङ समाज, जापानले ६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
समाजले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित तथा प्रभावित नागरिकप्रति सहानुभूति प्रकट गरेको छ।
समाजका अध्यक्ष गीर बहादुर तामाङ र केन्द्रीय कार्यसमितिले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, विपद्को यस कठिन परिस्थितिलाई मध्यनजर गर्दै टोकियोमा आयोजना गर्ने भनिएको ‘ डम्फूसेलो तथा म्हेन्दोमाया सांस्कृतिक साँझ–२०२६’ कार्यक्रमसमेत नगर्ने निर्णय गरिएको छ।
पीडित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले समाजको तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ लाख रुपैयाँ प्रदान गरिएको हो। जापानबाट ६ लाख २६ हजार २४० जापानी येन पठाइएको रेमिट्यान्स विवरणसमेत सार्वजनिक गरिएको छ।
समाजले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली, संघ–संस्था, व्यवसायी तथा शुभेच्छुकहरूलाई बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सक्दो सहयोग गर्न अपिल गरेको छ।
अध्यक्ष गीर बहादुर तामाङले प्राकृतिक विपद्को यस कठिन घडीमा पीडित नागरिकप्रति नेपाल तामाङ समाज जापानको साथ, सहयोग र ऐक्यबद्धता निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।