काठमाडौं, २४ पुस।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले संगठनको सुदृढीकरण तथा श्रीवृद्धिका लागि सामूहिक सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै सबै प्रहरी कर्मचारीहरूलाई उच्च व्यावसायिकता र अनुशासनको प्रदर्शन गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आयोजित कार्यक्रममा आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता, समसामयिक विषयवस्तु तथा प्रहरी गतिविधि र कार्यसम्पादनका विषयमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिनुभएको हो।
उहाँले समाजमा देखा परेका विभिन्न सुरक्षा चुनौतीहरूको सामना गर्न स्पष्ट सुरक्षा रणनीति तयार गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्नेमा जोड दिनुभयो। कुनै पनि प्रकारका अपराधविरुद्ध निर्मम रूपमा प्रस्तुत भई सबै प्रहरी कर्मचारीहरूले आ–आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक वहन गर्नुपर्ने उहाँको निर्देशन थियो।
प्रहरी महानिरीक्षक कार्कीले पारदर्शी र वस्तुनिष्ठ अपराध अनुसन्धान, सीमा नाकामा हुने तस्करी नियन्त्रण, हातहतियार बरामद, फरार प्रतिवादी पक्राउजस्ता कार्यलाई प्राथमिकतामा राखी थप सक्रियताका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो। भिड नियन्त्रणका क्रममा सिलसिलेवार बल प्रयोगको सिद्धान्त अवलम्बन गर्नुपर्ने तथा सवारी दुर्घटना न्यूनीकरणका लागि थप क्रियाशील हुनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो।
आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीतिहरू अवलम्बन गरी कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कार्कीले आ–आफ्नो कार्यक्षेत्रमा स्थानीय तह र सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गर्दै व्यावसायिक, उत्तरदायी तथा जवाफदेही प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो। साथै, सबै प्रहरी कर्मचारीहरूले शिष्ट बोली, बचन र व्यवहारमार्फत नागरिकका गुनासो सम्बोधन गर्न थप सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले पनि समसामयिक विषयमा निर्देशन दिनुभएको थियो।
कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिसँगै काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातै प्रदेश प्रहरी कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल सहभागिता रहेको थियो।