प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा पुनः स्वामित्वमा फर्काउने निर्णय ऐतिहासिक: आईजीपी कार्की

theoutsidenepal.com

प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा पुनः स्वामित्वमा फर्काउने निर्णय ऐतिहासिक: आईजीपी कार्की


काठमाडौं:

नेपाल प्रहरी का महानिरीक्षक दान बहादुर कार्की ले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको जग्गा पुनः प्रतिष्ठानकै स्वामित्वमा कायम गर्ने सरकारको निर्णयलाई ऐतिहासिक उपलब्धि बताएका छन्।


सरकारले मिति २०८३ बैशाख १० गते गरेको निर्णयअनुसार ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा पुनः प्रतिष्ठानकै स्वामित्वमा रहने भएको छ। आईजीपी कार्कीका अनुसार यो निर्णयले प्रहरी संगठनको संस्थागत सुदृढीकरण, दीर्घकालीन भौतिक पूर्वाधार विकास तथा व्यावसायिक दक्षता अभिवृद्धिमा दूरगामी सकारात्मक प्रभाव पार्नेछ।


उनले उक्त निर्णयका लागि नेपाल सरकार, मन्त्रिपरिषद् तथा विशेषगरी सम्माननीय प्रधानमन्त्रीप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। साथै, यस विषयमा लामो समयदेखि पहल गर्दै आएका अवकाशप्राप्त अग्रज प्रहरी अधिकृतहरूको योगदानसमेत प्रशंसनीय रहेको उल्लेख गरेका छन्।


कार्कीले आगामी दिनमा पनि नेपाल प्रहरी को संस्थागत सुदृढीकरण, पेशागत क्षमता तथा मनोबल अभिवृद्धिका लागि नेपाल सरकारबाट निरन्तर सहयोग र अभिभावकत्व प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।


यस निर्णयलाई नेपाल प्रहरीको इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ, जसले संगठनको क्षमता विस्तार र प्रभावकारी सेवा प्रवाहमा उल्लेखनीय टेवा पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया