विधिको शासनको प्रतिबद्धता: सोविता गौतम कानून मन्त्री, न्यायमा नयाँ आशा

theoutsidenepal.com

काठमाडौं — “प्रत्येक नागरिकले विधिको शासनको अनुभूति गर्न पाउनुपर्छ, न्याय सबैका लागि पहुँचयोग्य र निष्पक्ष हुनुपर्छ,” भन्ने स्पष्ट प्रतिबद्धतासहित सोविता गौतम ले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको रूपमा सपथ ग्रहण गरेकी छन्। उनको आगमनसँगै न्याय प्रणालीमा सुधार र जनतामुखी परिवर्तनको अपेक्षा चुलिएको छ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रभावशाली नेतृ गौतम “जान्ने लाई छान्ने” भन्ने पार्टीको मूल मन्त्रअनुसार मन्त्री मण्डलमा अटाउन सफल भएकी हुन्। बालेन्द्र शाह नेतृत्वको सरकारमा उनको प्रवेशले दक्षता, पारदर्शिता र परिणाममुखी कामको संकेत दिएको विश्लेषकहरूको भनाइ छ।


गौतमले सपथपछि दिएको सन्देशमा स्पष्ट भनिन्—दुःख पर्दा नागरिकले नेता होइन, प्रणालीबाटै न्याय पाउनुपर्छ। यही सोचलाई व्यवहारमा उतार्ने लक्ष्यसहित उनी मन्त्रालय सम्हाल्न पुगेकी छन्। उनले न्याय प्रणालीलाई छिटो, सहज र निष्पक्ष बनाउने, कानुनी जटिलता घटाउने र सर्वसाधारणको पहुँच बढाउने प्राथमिकता लिने बताएकी छन्।


उनको नेतृत्वमा अदालत र सरकारी निकायबीच समन्वय मजबुत हुने, कानुन निर्माण प्रक्रिया थप व्यवस्थित बन्ने र संसदीय अभ्यास अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। युवा, सक्षम र स्पष्ट दृष्टिकोण भएकी नेतृका रूपमा चिनिएकी गौतमले छोटो समयमै परिणाम दिने विश्वास गरिएको छ।


रास्वपाको नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै मन्त्री बनेकी गौतमको उदयले देशभर आशा जगाएको छ। अब हेर्न बाँकी छ—उनको प्रतिबद्धता व्यवहारमा कत्तिको रूपान्तरण हुन्छ। तर सुरुवातले भने स्पष्ट सन्देश दिएको छ—न्याय अब पहुँच बाहिर होइन, जनताको ढोकामै पुग्नेछ। 


प्रतिक्रिया