मसुरिया, फागुन १६ — कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको पक्षमा जनमत बढ्दो देखिएको छ। गोरख बहादुर बिष्ट ‘आनन्द’को सक्रियतासँगै विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने क्रम तीव्र बन्दै गएको छ।
गौरीगंगा नगरपालिका वडा नम्बर ७ मनिकापुरका तिलराम चौधरी र नेपालु चौधरीले नेकपा एमाले परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। त्यसैगरी वडा नम्बर ८ चमारीपुरकी ममता नेगीले पनि एमाले त्यागेर कांग्रेस रोजेकी छन्।
नवप्रवेशीहरुलाई उम्मेदवार बिष्टले टीका तथा खादा लगाएर औपचारिक स्वागत गरेका थिए। स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा प्रवेश गर्ने सबैलाई सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरे। विकास, सुशासन र जनहितका एजेण्डामा कांग्रेस स्पष्ट र प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले कैलाली–४ लाई समृद्ध र नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे।
“लोकतन्त्रको सुदृढीकरण, समावेशिता र दीगो विकासका लागि कांग्रेस नै भरोसायोग्य शक्ति हो,” बिष्टले भने, “अब परिवर्तनको नेतृत्व कांग्रेसले गर्छ, र यसमा तपाईं–हाम्रो साझा प्रयास आवश्यक छ।”
नवप्रवेशीहरुले पनि कांग्रेसको नीति, कार्यक्रम र नेतृत्वप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन सक्रिय रहने बताएका छन्।
स्थानीय तहमा पछिल्लो समय विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गर्ने क्रम बढ्दै जानु कैलाली–४ मा चुनावी माहोल कांग्रेसतर्फ केन्द्रित हुँदै गएको संकेतका रूपमा हेरिएको छ।