कैलाली जिल्ला–२ मा परिवर्तनको घण्टी: युवा नेता केपी खनालको आह्वानले लम्किचुहा ततायो

theoutsidenepal.com

कैलाली । कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत लम्किचुहा नगरपालिका–४ मा यतिबेला परिवर्तनको स्वर झन् चर्किएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता तथा उम्मेदवार केपी खनालले सामाजिक सञ्जालमार्फत गरेको भावनात्मक आह्वानले क्षेत्रको चुनावी माहोल तातेको छ।


“परिवर्तनको उद्घोष गर्न लाग्नुभएका लम्किचुहा–४ वासि सम्पूर्ण आमाबुवा, दाजुभाइ दिदीबहिनी तथा GenZ पुस्ताहरूमा जय घण्टी यहाँहरूको दैलो–दैलो परिवर्तनको घण्टी बजाउन आएका छौं! फागुन २१ पार्टीभन्दा माथि देश सम्झिनुहोला,” भन्ने स्टाटस सार्वजनिक गर्दै खनालले मतदातासँग प्रत्यक्ष समर्थन माग्नुभएको छ।


युवा पुस्तालाई विशेष प्राथमिकतामा राख्दै खनालले सुशासन, रोजगारी, पारदर्शिता र दीगो विकासलाई आफ्नो मुख्य एजेण्डा बनाएको बताउनुभएको छ। उहाँको अभियानमा उल्लेख्य संख्यामा युवाहरूको सहभागिता देखिएको छ भने घरदैलो कार्यक्रम उत्साहपूर्ण बनेको स्थानीयले बताएका छन्।


स्थानीय मतदाताहरूका अनुसार पुराना राजनीतिक अभ्यासप्रति असन्तुष्टि बढिरहेका बेला नयाँ सोच र वैकल्पिक नेतृत्वको खोजी तीव्र भएको छ। केपी खनालको अभियानले विशेषगरी पहिलोपटक मतदान गर्न लागेका GenZ मतदातामाझ सकारात्मक ऊर्जा सिर्जना गरेको दाबी गरिएको छ।


कैलाली–२ मा यसपटक प्रतिस्पर्धा रोचक बन्दै जाँदा “पार्टीभन्दा माथि देश” भन्ने नाराले चुनावी बहसलाई नयाँ मोड दिएको विश्लेषकहरूको भनाइ छ। परिवर्तन, पारदर्शिता र जिम्मेवार नेतृत्वको प्रतिबद्धतासहित घण्टीको आवाज गाउँ–टोलमा गुन्जिन थालेको छ।


प्रतिक्रिया