लिपुलेक मुद्दामा राष्ट्रिय सहमति खोज्दै: धारणा सार्वजनिक गर्नुअघि रवि लामिछाने को विपक्षी नेतासँग संवाद

theoutsidenepal.com


लिपुलेक मुद्दामा राष्ट्रिय सहमति खोज्दै: धारणा सार्वजनिक गर्नुअघि रवि लामिछाने को विपक्षी नेतासँग संवाद



काठमाडौँ — लिपुलेक सम्बन्धी सरकारको औपचारिक धारणा सार्वजनिक गर्नुअघि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग व्यापक छलफल गरेका छन्।


विदेश नीतिजस्तो संवेदनशील विषयमा राष्ट्रिय एकरूपता आवश्यक रहेको निष्कर्षसहित लामिछानेले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी का नेताहरूसँग संवाद गरेका हुन्।


रास्वपा प्रवक्ता मनिष झाका अनुसार लामिछानेले कांग्रेसका नेता भीष्मराज आङ्देम्बे, एमालेका रामबहादुर थापा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीका हर्क साम्पाङ तथा राप्रपाका राजेन्द्र लिङ्देन सँग टेलिफोनमार्फत कुराकानी गरेका थिए।


प्रवक्ता झाका अनुसार “सरकारले निकाल्ने धारणा सबैको साझा होस्, राष्ट्रिय स्वामित्व रहोस् भन्ने उद्देश्यले छलफल गरिएको” हो। उक्त संवादपछि मात्रै परराष्ट्र मन्त्रालयले औपचारिक विज्ञप्ति जारी गरेको बताइएको छ।


यसक्रममा नेपालले भारत र चीनलाई कूटनीतिक नोट पठाउँदै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको अडान पुनः दोहोर्‍याएको छ। १८१६ को सुगौली सन्धि अनुसार यी क्षेत्र नेपालकै अभिन्न भूभाग रहेको सरकारको स्पष्ट धारणा छ।


परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने तयारीबारे भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट जानकारी गराइसकेको जनाएको छ।


विश्लेषकहरूका अनुसार विदेश नीतिमा यस्तो सर्वदलीय परामर्शले राष्ट्रिय मुद्दामा साझा धारणा निर्माण गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। नेपाल–भारतबीचको सीमा विवाद समाधानका लागि दीर्घकालीन कूटनीतिक संवाद नै प्रमुख मार्ग रहने पनि उनीहरूको भनाइ छ।


प्रतिक्रिया