काठमाडौं — समाजसेवी डा. अबुल हुसेन अन्सारी ले गगन थापा र विश्वप्रकाश शर्मा प्रति कडा टिप्पणी गर्दै नेपाली कांग्रेसको आगामी राजनीतिक भविष्यप्रति चिन्ता व्यक्त गरेका छन्।
अन्सारीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गगन थापा र विश्वप्रकाश शर्माको “सस्तो लोकप्रियता” का कारण नेपाली कांग्रेसले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा मात्र होइन, आगामी स्थानीय तह निर्वाचनमा पनि ठूलो नोक्सानी व्यहोर्न सक्ने दाबी गरेका छन्। उनले भनेका छन् कि आगामी चुनावमा उम्मेदवारहरूको जमानत जफत हुने अवस्था आएपछि मात्र वास्तविकता बुझिनेछ।
उनले नेताहरू सिद्धान्तबाट विचलित हुँदै स्वार्थमा केन्द्रित भएको आरोप लगाउँदै यस्तो प्रवृत्तिले पार्टीलाई यथार्थबाट टाढा पु¥याएको उल्लेख गरेका छन्। “सिद्धान्तबाट चिप्लिएपछि र यथार्थको धरातल छोडेपछि अन्ततः व्यक्ति कहाँ पुग्छ भन्ने देखिँदै गएको छ,” उनले लेखेका छन्।
अन्सारीले राजनीतिमा दूरदर्शिता भएका नेताहरू चाँडै अप्रासंगिक नहुने भए पनि वर्तमान परिस्थितिको विकास हेर्दा गगन थापा र विश्वप्रकाश शर्मा “आउटडेटेड” हुने अवस्था नजिकिँदै गएको दाबी गरेका छन्। उनले यसलाई आफ्नो “भविष्यवाणी” को रूपमा प्रस्तुत गरेका छन्।
आफू मधेशबाट आएको उल्लेख गर्दै अन्सारीले क्षेत्रीय राजनीतिक दृष्टिकोणबाट पनि कांग्रेस नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि बढिरहेको संकेत दिएका छन्।
अन्सारीको उक्त अभिव्यक्तिले नेपाली कांग्रेसभित्रको आन्तरिक बहस र आलोचनालाई थप चर्काउने देखिएको छ। विश्लेषकहरूका अनुसार यस्ता धारणा सार्वजनिक रूपमा आउनु पार्टीभित्र असन्तुष्टि बढ्दै गएको संकेतका रूपमा पनि हेरिएको छ।