अमेरिकास्थित एनआरएनए अभियन्ताहरूको अपिल: महाधिवेशन स्थगन गरि सर्वसम्मत वातावरणमा आयोजना गर्न आग्रह

theoutsidenepal.com

काठमाडौं । अमेरिकामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरूले मातृभूमि नेपालमा फागुन २१ गते हुन गइरहेको आम निर्वाचन शान्तिपूर्ण, निष्पक्ष तथा सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै निर्वाचनले नेपालको लोकतान्त्रिक यात्रालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।


उनीहरूले जारी गरेको हार्दिक अपिलमार्फत आगामी निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाले गैरआवासीय नेपालीका मुद्दा र सरोकारलाई आवश्यक प्राथमिकता दिने अपेक्षा समेत व्यक्त गरेका छन्। विश्वभर रहेका नेपालीहरूको साझा चाहना राजनीतिक स्थायित्वसहित समृद्ध नेपाल निर्माण नै भएको उल्लेख गर्दै निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा लिन आग्रह गरिएको छ।


यसैबीच, गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय सम्मेलन आगामी मार्च १४ देखि १७ सम्म आयोजना गर्ने मिति तय गरिएको सन्दर्भमा उनीहरूले गम्भीर ध्यानाकर्षण गराएका छन्। विश्व परिस्थितिमा आएको जटिलता, विशेषगरी मध्यपूर्व क्षेत्रमा विकसित संवेदनशील अवस्था तथा श्रम गन्तव्य मुलुकहरूमा रहेका नेपालीहरूमा परेको प्रत्यक्ष प्रभावलाई दृष्टिगत गर्दै हालको निर्धारित मितिमा सम्मेलन आयोजना गर्दा व्यापक सहभागिता सुनिश्चित हुन नसक्ने उनीहरूको ठहर छ।


अपिलमा प्रतिनिधि छनौट प्रक्रिया, मतदान प्रणाली, एनसीसीहरूबीच समन्वय र दीर्घकालीन एकता जस्ता आधारभूत विषयहरूमा स्पष्ट सहमति विना सम्पन्न हुने सम्मेलनले अपेक्षित परिणाम दिन कठिन हुने उल्लेख गरिएको छ। त्यसैले सम्मेलन केही समयका लागि स्थगन गरी सबै पक्षबीच आवश्यक सहमति कायम गरेर सर्वसम्मत वातावरणमा पुनः उपयुक्त मिति तय गर्न आग्रह गरिएको छ।


साथै, सम्मेलन सफल बनाउन नेपाल सरकारले देखाएको अग्रसरता, सद्भाव तथा समन्वयकारी भूमिकाप्रति अभियन्ताहरूले आभार व्यक्त गरेका छन्।


मध्यपूर्व क्षेत्रमा विकसित द्वन्द्वका कारण उत्पन्न जटिल परिस्थितिप्रति ध्यानाकर्षण गर्दै विशेषगरी इजरायल र इरान बीचको तनावका कारण प्रभावित क्षेत्रमा रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सुरक्षा निर्देशनहरूको पालना गर्न तथा अनावश्यक जोखिमबाट बच्न अपिल गर्दै जोखिममा परेका नेपालीहरूको संरक्षण तथा आवश्यक परे उद्धार कार्यमा सबै पक्ष एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याइएको छ।


यसै क्रममा संयुक्त अरब इमिरेट्समा इरानद्वारा प्रहार गरिएको ड्रोन निष्क्रिय पार्ने क्रममा गोरखाका दिवस श्रेष्ठको दुःखद निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरिएको छ। दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।


उक्त अपिलमा हस्ताक्षर गर्ने अभियन्ताहरूमा डा. केशव पौडेल, सुनील साह, बुद्धि सुवेदी, गौरीराज जोशी, बी.आर. लामा, खगेन्द्र जिसी र डा. अर्जुन बञ्जाडे रहेका छन्।


२ मार्च, २०२६ मा जारी गरिएको उक्त वक्तव्यमा अत्यावश्यक अवस्था बाहेक जटिल परिस्थिति युक्त देशहरू हुँदै यात्रा नगर्न तथा प्रभावित क्षेत्रमा रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन पुनः आग्रह गरिएको छ।


प्रतिक्रिया