भीमसेन थापा : दोस्रो पुस्ताको ज्ञान, सीप, प्रविधि र लगानी नेपालसँग जोड्ने वातावरण बनाउनुपर्छ

theoutsidenepal.com

भीमसेन थापा : दोस्रो पुस्ताको ज्ञान, सीप, प्रविधि र लगानी नेपालसँग जोड्ने वातावरण बनाउनुपर्छ

चीन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का युवा उपाध्यक्ष भीमसेन थापाले विदेशमा हुर्किएको दोस्रो पुस्तालाई नेपाल फर्काउनेभन्दा उनीहरूको ज्ञान, सीप, प्रविधि र लगानीलाई नेपालसँग जोड्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।

चीनको ग्वाङ्झाउमा आयोजित एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण–२०२६’ अन्तर्गत ‘प्रवासमा युवा तथा दोस्रो पुस्ता : वर्तमान अवस्था र अबको बाटो’ विषयक सत्रमा बोल्दै थापाले विश्वभर छरिएका नेपाली युवा तथा दोस्रो पुस्ताको क्षमता नेपालको विकासमा उपयोग गर्नुपर्ने बताएका हुन्।

उनले भने, “अब हाम्रो प्राथमिकता केवल उनीहरूलाई नेपाल फर्काउने होइन, उनीहरूको ज्ञान, सीप, प्रविधि र लगानीलाई नेपालसँग जोड्ने हो।”

थापाले विदेशमा रहेका दोस्रो पुस्तालाई नेपाली भाषा, संस्कृति, पहिचान र परम्परासँग जोड्दै नेपालका युवासँग सहकार्य गर्ने अवसर सिर्जना गर्नुपर्ने बताए। एनआरएनएले विश्वभर रहेका नेपालीलाई एउटै साझा मञ्चमा जोड्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले आगामी दिनमा नयाँ पुस्ताको सहभागिता अझ बढाउनुपर्नेमा जोड दिए।

युवालाई भविष्यको होइन, आजकै जिम्मेवार शक्ति बनाउनुपर्छ

थापाले युवालाई केवल भविष्यका नेतृत्वका रूपमा हेर्ने नभई आजकै जिम्मेवार शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताए। नीति निर्माणदेखि एनआरएनएको अभियानसम्म युवाको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।

प्रवासमा रहेका युवा तथा दोस्रो पुस्ताको सिर्जनशीलता, क्षमता र अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको विकाससँग जोड्न सके नेपाल र प्रवासबीचको सम्बन्ध थप बलियो हुने उनले बताए।

खेलकुदमार्फत नेपाली युवालाई जोड्ने योजना

थापाले गैरआवासीय नेपाली खेलकुद प्रतिष्ठानमार्फत विश्वभर रहेका नेपाली युवालाई खेलकुदका माध्यमबाट जोड्ने योजना पनि अघि सारे।

खेलकुदले मित्रता, स्वास्थ्य, अनुशासन, राष्ट्रिय भावना र अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत बनाउने भन्दै उनले नेपाललाई विश्वसँग जोड्ने प्रभावकारी माध्यमका रूपमा खेलकुदलाई अघि बढाउनुपर्ने बताए।

‘एनआरएनए हाम्रो साझा घर हो’

थापाले एनआरएनएलाई विश्वभरका नेपालीको साझा घरका रूपमा विकास गर्नुपर्ने बताए। संस्थाको शक्ति एकता, पारदर्शिता, विश्वास र समर्पणमा निहित रहेको उल्लेख गर्दै उनले नयाँ पुस्ताको सहभागिताबाट एनआरएनएको अभियानलाई अझ प्रभावकारी बनाउनुपर्ने बताए।

एनआरएनएका मुद्दा संसद्मा उठाउन सांसदलाई आग्रह

सम्मेलनमा सहभागी नेपालका सत्तापक्ष, प्रतिपक्ष तथा विभिन्न राष्ट्रिय दलका सांसदहरूसँग थापाले एनआरएनएका साझा मुद्दालाई संसद्मा प्रभावकारी रूपमा उठाउन आग्रह गरे।

उनले भने, “यहाँ उठेका गैरआवासीय नेपालीका साझा मुद्दाहरूलाई नेपाल फर्किएपछि संसद्मा सशक्त रूपमा उठाई कानुनी तथा नीतिगत समाधानका लागि ठोस पहल गरिदिनुहोस्। हामी यसपटक प्रतिबद्धता मात्र होइन, परिणाम पनि देख्न चाहन्छौँ।”

थापाले गैरआवासीय नेपालीका अधिकार, नेपाली नागरिकताको निरन्तरता, लगानी, पर्यटन प्रवर्द्धन, सुरक्षित वैदेशिक रोजगारी तथा नयाँ पुस्ताको नेतृत्व विकासलाई एनआरएनएको प्राथमिकतामा राख्नुपर्ने बताए।

‘एक पटकको नेपाली, सधैँको नेपाली’

थापाले ‘एक पटकको नेपाली, सधैँको नेपाली, विश्वभरका नेपाली एउटै परिवार’ भन्ने भावनाका साथ सम्मेलनले सकारात्मक निष्कर्ष र स्पष्ट मार्गदर्शन दिने विश्वास व्यक्त गरे।

उनका अनुसार सम्मेलनले प्रवासमा रहेका नेपाली युवा तथा दोस्रो पुस्तालाई नेपालसँग थप मजबुत रूपमा जोड्ने र त्यसका लागि कार्यान्वयनयोग्य योजना निर्माण गर्ने आधार तयार गर्नेछ।

कार्यक्रममा एनआरएनए नेतृत्व, नेपालबाट सहभागी सांसद तथा पूर्वसांसद, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, एनआरएनएका विभिन्न तहका पदाधिकारी, राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, आयोजक समिति, दोस्रो पुस्ताका युवा, सञ्चारकर्मी तथा विश्वभरबाट आएका गैरआवासीय नेपाली अभियन्ताहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुवातमा थापाले हालै सम्पन्न मिस नेपाल वर्ल्ड–२०२६ की विजेता तथा युथ अफ सेकेन्ड जेनेरेसनकी अध्यक्ष दिपमाला ढकाललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।


प्रतिक्रिया