प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औँ बैठक सम्पन्न
काठमाडौं, २५ असार — प्रधानमन्त्री तथा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औँ बैठक आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ।
बैठकले ‘चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि, २०८३’ स्वीकृत गरेको छ। आयोगको आर्थिक व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले उक्त कार्यविधि अनुमोदन गरिएको जनाइएको छ।
बैठकमा आयोगका नवनियुक्त उपाध्यक्ष डा. देवेन्द्र खत्रीले कार्यविधि स्वीकृतिसम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो, जसलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सह-अध्यक्षता गर्नुभएको थियो। साथै आयोगका पदाधिकारी तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
सरकारले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, वित्तीय व्यवस्थापनलाई सुदृढ बनाउने तथा आयोगका गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ कार्यविधि स्वीकृत गरेको जनाएको छ।