खुलामञ्च ध्वस्त भएको भन्ने समाचारको विश्वप्रकाश शर्माद्वारा खण्डन, क्षति मर्मत गर्ने कांग्रेसको प्रतिबद्धता
द टन न्युज । काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशनका लागि प्रयोग गरिएको काठमाडौंको खुलामञ्च पूर्ण रूपमा ध्वस्त भएको भन्ने समाचारको खण्डन गरेका छन्। उनले असोज २६ गते अपराह्न खिचिएको भिडियो सार्वजनिक गर्दै खुलामञ्चको अवस्थाबारे केही सञ्चारमाध्यममा प्रसारित समाचारले वास्तविक अवस्थालाई अतिरञ्जित गरेको बताएका छन्।
शर्माका अनुसार नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि खुलामञ्च प्रयोग गर्ने अनुमति लिने क्रममा काठमाडौं महानगरपालिकासँग लिखित प्रतिबद्धता गरेको थियो। महाधिवेशनका क्रममा स्टेज तथा हल निर्माण गर्दा र हजारौँ मानिस पाँच–छ दिनसम्म सहभागी हुँदा खुलामञ्चमा केही क्षति पुग्न सक्ने विषयमा पार्टी पहिले नै जानकार रहेको उनको भनाइ छ।
महाधिवेशनका क्रममा सामान्य क्षति भएको स्वीकार गर्दै शर्माले खुलामञ्च पूर्ण रूपमा ध्वस्त भएको जस्तो गरी समाचार प्रसारण गरिएकोप्रति आपत्ति जनाएका छन्। उनले असोज २६ गते अपराह्न खिचिएको भिडियोले खुलामञ्चको वास्तविक अवस्थाबारे स्पष्ट पार्ने दाबी गरेका छन्।
यद्यपि, खुलामञ्चमा थोरै मात्र क्षति पुगेको भए पनि त्यसको मर्मतसम्भार गर्नु पार्टीको दायित्व भएको शर्माले स्पष्ट पारेका छन्। क्षति भएका संरचना तथा क्षेत्रको मर्मत पार्टीकै खर्चमा गरेर महानगरपालिकालाई हस्तान्तरण गरिने उनको भनाइ छ।
यस विषयमा काठमाडौं महानगरपालिकालाई पूर्वजानकारी गराइसकिएको उल्लेख गर्दै शर्माले सार्वजनिक सम्पत्तिको उपयोग गर्ने पक्षले त्यसको संरक्षण, स्याहार र मर्मतसम्भारको जिम्मेवारी पनि निर्वाह गर्नुपर्नेमा नेपाली कांग्रेस स्पष्ट रहेको बताएका छन्।
सार्वजनिक सम्पत्तिको संरक्षण र जिम्मेवार उपयोगप्रति प्रतिबद्ध रहेको सन्देश दिँदै शर्माले खुलामञ्चको अवस्थाबारे वास्तविक तथ्यका आधारमा समाचार सम्प्रेषण गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
द टन न्युज