युवा जोश, संगठनमा पकड र सामाजिक सेवाको पहिचान : अमृत गुरुङको केन्द्रीय सदस्यमा दमदार उम्मेदवारी
द टन न्युज । विशेष रिपोर्ट
नेपाली काँग्रेस चितवनका प्रभावशाली युवा नेता तथा नेपाल तरुण दल चितवनका उपाध्यक्ष अमृत गुरुङले नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएसँगै उनको उम्मेदवारीले पार्टीभित्र नयाँ पुस्ताको नेतृत्वको बहसलाई थप बलियो बनाएको छ।
चितवन क्षेत्र नं. ३ बाट खुल्लातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित गुरुङ युवामाझ लोकप्रिय तथा संगठन परिचालनमा सक्रिय नेताका रूपमा स्थापित छन्। लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिसँगै सामाजिक सेवामा समेत निरन्तर सक्रिय रहँदै आएका गुरुङले पार्टी संगठनलाई थप गतिशील, आधुनिक र युवामैत्री बनाउने लक्ष्यसहित केन्द्रीय सदस्य पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।
गुरुङको राजनीतिक सक्रियता पार्टी संगठनमा मात्र सीमित छैन। रसुवाको बाढी तथा विपद् प्रभावित क्षेत्रमा नेपाल तरुण दल चितवनको नेतृत्व गर्दै राहत सामग्री वितरणदेखि जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा सहयोग पुर्याउने कार्यमा समेत उनको महत्वपूर्ण भूमिका रहँदै आएको छ। विपद्को समयमा जनताको बीचमा पुगेर सेवा गर्ने उनको सक्रियतालाई युवा पुस्ताले सकारात्मक रूपमा लिएको बताइन्छ।
गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समेत नेपाल तरुण दलको तर्फबाट नेपाली काँग्रेस चितवनको चुनावी कमाण्डरको जिम्मेवारी सम्हालेका गुरुङले युवा परिचालन र संगठन व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गरेको काँग्रेस नेताहरू बताउँछन्।
चितवनको राजनीतिमा युवा पुस्ताको बलियो प्रतिनिधित्वका रूपमा हेरिएका गुरुङले १५औँ महाधिवेशनलाई नेपाली काँग्रेसमा नयाँ सोच, नयाँ ऊर्जा र पुस्तान्तरणको महत्वपूर्ण अवसरका रूपमा लिएका छन्।
अग्रज नेताहरूको मार्गदर्शन, आशीर्वाद र युवाहरूको साथ लिएर आफू अघि बढेको बताउँदै गुरुङले पार्टीलाई अझ सशक्त, जनमुखी र संगठनात्मक रूपमा बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
उनको उम्मेदवारीलाई चितवनबाट राष्ट्रिय राजनीतिमा उदाउँदै गरेको युवा नेतृत्वको महत्वपूर्ण दाबीका रूपमा हेरिएको छ। संगठनमा सक्रियता, विपद्मा जनसेवा र युवामाझको प्रभावलाई आफ्नो राजनीतिक पूँजी बनाएका गुरुङले अब काँग्रेसको केन्द्रीय नेतृत्वमा पुगेर युवाको आवाजलाई थप प्रभावकारी ढंगले उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
केन्द्रीय सदस्य पदका उम्मेदवार गुरुङले १५औँ महाधिवेशनका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउन हार्दिक अपिलसमेत गरेका छन्।