काठमाडौं — गैरआवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद् अमेरिका (NCC USA) ले आगामी जनवरी १७, २०२६ मा भौतिक बैठक आयोजना गर्ने भएको छ। एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र शाहले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै उक्त बैठक अमेरिकाको नेभाडा राज्यस्थित लस भेगासमा हुने जनाएका छन्।
पोस्टरमार्फत सार्वजनिक गरिएको जानकारी अनुसार, बैठकले संगठनात्मक सुदृढीकरण, आपसी समन्वय तथा आगामी कार्यदिशाका विषयमा महत्वपूर्ण छलफल गर्ने अपेक्षा गरिएको छ। अध्यक्ष शाहले एनआरएनए एनसीसी अमेरिकाका पदाधिकारी, सदस्य तथा अभियन्ताहरूलाई उक्त भौतिक बैठकमा सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।
एनआरएनए एनसीसी अमेरिका विश्वभर रहेका नेपालीहरूको हक–हित, पहिचान र मातृभूमिसँगको सम्बन्ध मजबुत बनाउन निरन्तर सक्रिय रहँदै आएको छ। लस भेगासमा आयोजना हुन लागेको यो भौतिक बैठकलाई संगठनका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।