रातो र निलो टाईको सन्देश: दुई निवर्तमान अध्यक्षको सहकार्यले सफल भयो NRNA एकता अभियान
काठमाडौं । लामो समयदेखि विभाजन र विवादको अवस्थाबाट गुज्रिएको गैरआवासीय नेपाली संघ (NRNA) अन्ततः एकताको नयाँ चरणमा प्रवेश गरेको छ। यस ऐतिहासिक उपलब्धिको पछाडि निवर्तमान एनआरएनए आईसीसी अध्यक्ष महेश कुमार श्रेष्ठ र डा. बद्री केसीको महत्वपूर्ण भूमिका रहेको भन्दै विश्वभरका गैरआवासीय नेपालीहरूले सकारात्मक प्रतिक्रिया व्यक्त गरिरहेका छन्।
कोरियामा कन्जर्भेटिभ पार्टीका नेताहरूले रातो टाई र डेमोक्रेटिक पार्टीका नेताहरूले निलो टाई लगाउने परम्परासँग तुलना गर्दै धेरैले यो सहकार्यलाई एकताको प्रतीकका रूपमा व्याख्या गरेका छन्। रातो टाईमा देखिएका निवर्तमान अध्यक्ष महेश कुमार श्रेष्ठ र निलो टाईमा देखिएका निवर्तमान अध्यक्ष डा. बद्री केसीको संयुक्त प्रयासले लामो समयदेखिको विभाजन अन्त्य गर्दै एनआरएनएलाई फेरि एउटै छातामुनि ल्याउन महत्वपूर्ण योगदान दिएको बताइन्छ।
हाल एनआरएनएको नेतृत्वमा अध्यक्ष डा. हेमराज शर्मा र वरिष्ठ उपाध्यक्ष रोविन शेरचन रहनुभएको छ। विश्वभरका गैरआवासीय नेपालीहरू पुनः एउटै संगठनभित्र आबद्ध हुँदै साझा उद्देश्यका साथ अघि बढ्ने वातावरण बनेको छ।
एकताले संस्थालाई थप बलियो, प्रभावकारी र विश्वभर रहेका नेपालीहरूको साझा आवाजका रूपमा स्थापित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। गैरआवासीय नेपालीहरूबीच सहकार्य, विश्वास र संस्थागत मजबुतीका लागि यो उपलब्धिलाई महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।