सान फ्रान्सिस्को महावाणिज्य दूतावास खारेजीप्रति हरि ओझाको पनि आपत्ति
काठमाडौँ / सान फ्रान्सिस्को — अमेरिकाको सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावास (CGN, San Francisco) खारेजीको विषयमा प्रवासी नेपाली समुदायभित्र प्रतिक्रिया र असन्तुष्टि बढ्दै गएको छ।
यसैबीच गैरआवासीय नेपाली तथा सामाजिक अभियन्ता Hari Ojha ले पनि उक्त निर्णयप्रति आपत्ति जनाएका छन्।
ओझाले महावाणिज्य दूतावास खारेज हुनु प्रवासी नेपाली समुदायका लागि चिन्ताजनक विषय भएको भन्दै यसले सेवा पहुँच, कन्सुलर सुविधा र आपसी समन्वयमा असर पार्ने बताएका छन्। उनले विशेषगरी बे एरिया र आसपासका नेपालीहरूलाई कूटनीतिक सेवा सहज रूपमा उपलब्ध गराउने संरचना कमजोर हुने जोखिम रहेको टिप्पणी गरेका छन्।
उनले प्रवासी नेपाली संस्थाहरूबीच एकता, पारदर्शिता र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै संस्थागत कमजोरी र आन्तरिक विवादले दीर्घकालीन रूपमा समुदायको हितमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएका छन्।
महावाणिज्य दूतावास खारेजीबारे आधिकारिक कारण र भविष्यको वैकल्पिक कूटनीतिक व्यवस्थाबारे सम्बन्धित निकायबाट विस्तृत विवरण भने आउन बाँकी छ।