गैरआवासीय नेपाली संघ Non-Resident Nepali Association (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को महिला संयोजक पदका लागि रश्मि काली थापाले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। महिला अधिकार, सुरक्षा र आत्मनिर्भरताका विषयलाई प्राथमिकतामा राख्दै उनले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेकी हुन्।
थापाले विशेष गरी मध्यपूर्वमा घरेलु कामदारका रूपमा जाने नेपाली दिदीबहिनीहरूको सुरक्षा र सचेतनामा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। विदेश जानुअघि उनीहरूलाई घरेलु हिंसा र शोषणबाट जोगिन आवश्यक सचेतनामूलक तालिम प्रदान गर्न सहयोग गर्ने उनको योजना छ।
उनले विभिन्न कारणले घरेलु हिंसा, हत्या तथा अन्य अन्यायमा परेका महिलाहरूका लागि न्यायको आवाज बुलन्द बनाउने र पीडितलाई सहयोग गर्ने पनि बताएकी छन्। त्यस्तै, परिवार वा समाजबाट बहिष्कारमा परेका महिलाहरूलाई पुनःस्थापन (रिसेटलमेन्ट) गराउँदै साना–साना रोजगारीमूलक व्यवसाय सुरु गर्न सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन्।
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित सामूहिक कृषि लगायतका व्यवसायिक गतिविधि अगाडि बढाउने, महिलाहरूलाई नेतृत्व तहमा ल्याउन पहल गर्ने तथा विश्वभर रहेका नेपाली महिलाहरूबीच सञ्जाल विस्तार गर्ने योजना पनि थापाले अघि सारेकी छन्।
त्यसैगरी विदेशमा समस्यामा परेका नेपाली महिलाहरूको उद्धारका लागि सम्बन्धित देशका नेपाली दूतावास र स्थानीय टोलीसँग सहकार्य गरेर सहयोग गर्ने उनको भनाइ छ। साथै, विश्वभर रहेका नेपाली महिलाहरूलाई जोडेर कर्पोरेट शैलीका व्यवसायिक पहल अघि बढाउने तथा नेपाल र विदेशमा रहेका महिलाहरूबीच सहकार्य र समन्वय बढाउने लक्ष्य उनले राखेकी छन्।
थापाले विदेश जाने विद्यार्थी तथा डिपेन्डेन्ट भिसामा जाने नेपालीहरूलाई रोजगारी र सही शैक्षिक जानकारी उपलब्ध गराउन पनि पहल गर्ने बताएकी छन्।
महिला अधिकार, सुरक्षा र आर्थिक सशक्तीकरणलाई केन्द्रमा राख्दै उम्मेदवारी घोषणा गरेकी थापाको प्रतिबद्धताले एनआरएनएभित्र महिला सहभागिता र नेतृत्वलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।