प्रधानन्यायाधीश नियुक्तिबारे सांसद खुश्बु ओलीको टिप्पणी
‘वरिष्ठताको रोलक्रम मिच्दा गलत नजिर स्थापित भयो’
काठमाडौं । खुश्बु ओली ले प्रधानन्यायाधीश नियुक्तिको विषयलाई लिएर सरकारको आलोचना गरेकी छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले वरिष्ठताको स्थापित परम्परा तोडेर चौथो नम्बरमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।
उनले लेखेकी छन्,
“सरकारले वरिष्ठताको स्थापित रोलक्रम मिच्दै चौथो नम्बरमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गरिएको घटनाले देशका विभिन्न संवैधानिक तथा सार्वजनिक नियुक्तिहरूमा गलत नजिर स्थापित गरेको छ ।”
उनका अनुसार विधि, प्रक्रिया र संस्थागत मर्यादा स्थापित गर्ने दाबी गर्ने सरकारले आफ्नै प्रतिबद्धतामाथि प्रश्न उठाएको छ । उनले राज्य प्रणालीमा विधिभन्दा अधिनायकवाद हाबी हुँदै गएको सन्देश यस निर्णयले दिएको टिप्पणी गरेकी छन् ।
सांसद ओलीले यो निर्णयलाई “थिति बसाल्ने अवसर गुमाइएको” भन्दै आलोचना गरेकी छन् ।
प्रधानन्यायाधीश नियुक्तिको विषय यतिबेला राजनीतिक तथा कानुनी वृत्तमा व्यापक बहसको विषय बनेको छ । संविधानले वरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउन अनिवार्य नगरे पनि नेपालमा लामो समयदेखि वरिष्ठताको अभ्यास रहँदै आएको छ । यसपटक भने कार्यक्षमता, न्याय सम्पादन र अन्य मापदण्डलाई आधार बनाउँदै निर्णय गरिएको बताइएको छ ।